
रञ्जन अधिकारी पोखरा, ११ माघ /राष्ट्रिय लिग च्याम्पियन थ्रीस्टार क्लब १४ औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको छ । प्रतियोगिताको डिफेण्डिङ च्याम्पियन समेत रहेको थ्रीस्टारलाई १–० गोलले हराउने क्रममा त्रिभुवन आर्मीका दीप लामा खेलका हिरो बने । निर्णायक गोल गरेका उनी खेलमा म्यान अफ द म्याच समेत बने । पटक पटकको प्रयास असफल बन्दा पोखराको मैदानमा थ्रीस्टार अभागी सावित बन्यो ।
थ्रीस्टार बाई पाएर सिधै क्वार्टरफाईनल खेल्दा आर्मीले यसअघि प्रिक्वार्टरमा जावलाखेल युथ क्लबलाई २–० गोलले पराजित गरेको थियो । पछिल्लो पटक लगातार दुई पटक लिग च्याम्पयन बनेको थ्रीस्टारका लागि आर्मी टीम टाउको दुखाई बनेको छ । पछिल्ला ६ भेटमा थ्रीस्टारले आर्मीलाई पराजित गर्न सकेको छैन । चार खेलमा आर्मी हावी बनेको छ भने दुई खेल बराबरीमा रोकिएको छ ।
सोमबार भएको खेलमा विभागीय टीम आर्मीलाई जीत दिलाउने क्रममा लामाले ३० औं मिनेटमा गोल गरेका हुन् । लामा पाँच मिनेट अघि मात्रै टंक बस्नेतसँग स्थानान्तरण भएका थिए । उनले प्रहार गरेको भलि प्रहार क्रस बारमा लागेर ड्रप हुँदै बलले जाली चुमेको थियो । मनाङ मस्र्याङ्दीबाट यसै सिजनमा थ्रीस्टार छिरेका गोलकिपर विशाल श्रेष्ठले कुनै मौका नै पाएनन् ।
खेलको सुरुदेखि नै दुवै टीम आक्रमक बनेको थियो । पहिलो हाफ भन्दा दोस्रो हाफ रोमाञ्चक बन्यो । थ्रीस्टारका तर्फबाट सेगुनका दुई उत्कृष्ट प्रहार गोलमा परिणत हुन सकेनन् । ६३ औं मिनेटमा सेगुनको प्रहार सेकेण्डबार हुँदै बाहिरियो भने ६७ औं मिनेटमा क्रसबारमा लागेर आउट भयो । गोल लगत्तै दीप लामा नै अर्को मौका सदुपयोग गर्न चुके । ५३ औं मिनेटमा रञ्जित धिमालको फ्रिकिक प्रहार पोष्ट नजिकैबाट बाहिरियो । पहिलो हाफको ईन्जुरी समयमा दीपक राईले राम्रो प्रयास गरेपनि सफल भएनन् । आर्मीका तर्फबाट पनि केहि अवसर खेर गए । पहिलो हाफकै ईन्जुरी टाईममा अमृत बस्नेत वान भर्सेज वान अवसरमा ढिलाई गर्दा विष्णु सुनुवारले थ्रीस्टारको खड्को टारे । लगत्तै भरत खवासको प्रहार थ्रीस्टारका गोलकिपर विशालले पञ्च गरे । दोस्रो हाफको चौथो मिनेटमा भरत खवास पुनः गोल गर्न चुके । खेलमा आर्मीका अमृत बस्नेतले पहिलो हाफको ईन्जुरी समय र पदम तामाङले दोस्रो हाफको ईन्जरी समयमा पहेंलो कार्ड व्यहोरे भने थ्रीस्टारका क्याप्टेन विजय गुरुङले ४० औं मिनेटमा कार्ड पाए ।
प्रतियोगितामा आर्मीको यो आठौं सहभागिता हो । थ्रीस्टारको भने दशौं पटकको उपस्थिति हो । चार पटकको विजेता थ्रीस्टार दोस्रो, चौथो, आठौं र १२ औं संस्करणमा सहभागी भएन । पाँचौं, नवौं, ११ औं र १३ औं पटक थ्रीस्टारले उपाधि चुमेको थियो । उसले फाईनलमा मनाङलाई तीन पटक र घरेलु टीम सहारालाई पराजित गरेको हो । प्रथम संस्करणमै झापा ११ सँग थ्रीस्टार पहिलो खेलमै १–० गोलले पराजित भएको थियो । छैटौं संस्करणमा पनि पहिलो खेलमै पुलिससँग १–० गोलले नै पराजित थ्रीस्टार दशौं संस्करणमा पनि पहिलो खेलमै जावलाखेलसँग ३–१ ले हार व्यहोरेको थियो ।
अब आर्मीले पहिलो सेमिफाईनलमा आयोजक टीम सहारा क्लबसँग माघ १३ गते खेल्नेछ । मंगलबारको अन्तिम क्वार्टरफाईनलसँगै सेमिफाईनल समिकरण पुरा हुनेछ । मंगलबार रमपम झापा ११ र गजिरचाट स्पोर्टिङ क्लब बंगलादेश बीच खेल हुनेछ । विजेता मनाङसँग फाईनल प्रवेशका लागि माघ १४ गते दोस्रो सेमिफाईनल खेल्नेछ । बंगलादेशकै रहमतगञ्ज एमएफ सोसाईटी प्राविधिक कारण देखाउँदै नआउने भएपछि त्यहाँकै गजिरचाट क्लब पोखरा आएको हो ।
पोष्ट म्याच कन्फरेन्समा थ्रीस्टारका प्रशिक्षक राजेन्द्र तामाङले खेल भन्दा बढि रेफ्रीको भुमिकाबारे बोले । यो खेलको रेफ्रीमा नविन्द्र महर्जन रहेका थिए । तामाङले नेपाली फुटबलकै शीर्ष स्तरका दुई टीमबीचको खेलमा अयोग्य रेफ्री खेलाएको आरोप लगाउँदै आयोजकसँग पनि असन्तुष्टि राखे । सानोदेखि फल दिनैपर्ने ठाउँमा पनि रेफ्री खेलाडीसँग डराएको उनको आरोप थियो ।
आर्मीका प्रशिक्षक मेघराज केसीले थ्रीस्टारसँगका पछिल्ला सबै ६ खेलमा हार नव्यहोरेको जनाउँदै यो खेल सहज नभएपनि आश्चर्यजनक नरहेको बताए । उनले अब सहारा क्लबलाई पनि थ्रीस्टारकै स्तरको दर्जा दिँदै सक्दो प्रयास गर्ने जनाए ।
आजको खेलः
रमपम झापा ११ भर्सेज गजिरचाट स्पोर्टिङ क्लब, बंगलादेश
