लिट्रेचर फेस्टिभलको पाँचौ संस्करण पोखरा फेवाताल किनारमा

Share:

पोखरा, माघ ११ । नेपाल लिटरेचर फेष्टिभलको पाँचौं संस्करण पोखरामा हुने भएको छ । महोत्सव चार दिनसम्म चल्ने आयोजक बुकवर्म फाउण्डेसनले जनाएको छ । यही माघ १५ गतेदेखि १८ गतेसम्म पोखराको ड्यामसाईड स्थित नेपाल पर्यटन बोर्डको परिसरमा महोत्सव हुन लागेको हो ।

पठन संस्कृतिको विकास तथा साहित्यिक कृतिको बजार प्रवद्र्धनका लागि फेष्टिभल आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । यसअघि काठमाण्डौंमा हुँदै आएको साहित्यीक महोत्सव पहिलोपटक पोखरामा आयोजना हुन लागेको हो । काठमाण्डौंलाई मात्रै केन्द्र मानेर आयोजना हुने कार्यक्रमहरुलाई अन्य क्षेत्रमा विस्तार गर्ने उद्देश्यले पोखरामा महोत्सव आयोजना गर्न लागिएको आयोजक बुकवर्म फाउण्डेशनका निर्देशक अजित बरालले जानकारी दिए ।

नेपाली साहित्यलाई अन्तराष्ट्रिय बजारसम्म परिचित गराउने हाम्रो लक्ष्य छ, निर्देशक बराल भन्छन्–यसको बजार प्रवद्र्धन गर्न र काठमाण्डौं केन्द्रित कार्यक्रमको शिलशिला तोड्नकै लागि पनि पोखरामा महोत्सव आयोजना हुन लागेको हो ।

महोत्सवमा साहित्यीक कृतिसँगै राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक बिषयमा छलफल र संविधानका पछिल्ला मुद्धाहरुमा बहस समेत हुने उनले बताए । महोत्सवमा भारतका दुई लेखक र नेपालका ६० भन्दा बढी लेखक, कलाकार, गीतकार तथा राजनीतिज्ञले ३० भन्दा बढी बिषयमा छलफल गर्नेछन् । यो बर्ष बिशेषगरी नयाँ शक्तिमाथी सम्बाद गरिने आयोजकले जनाएको छ । बुकवर्म फाउण्डेशनले आईतबार पोखरामा पत्रकार सम्मेलन गरी महोत्सवको बारेमा जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा सह आयोजक ¥याण्डम रिडर्स सोसाईटीका अध्यक्ष उपेन्द्र पौडेलले पोखराका लागि यो महोत्सव नयाँ भएकाले यसको भरपुर फाईदा लिनुपर्ने बताए । यस्तै संस्कृतिकर्मी तीर्थ श्रेष्ठले पोखरामा साहित्य महोत्सब गर्न पाउनु निकै ठूलो उपलब्धी भएको बताए । पोखराले धेरै अभियानको नेतृत्व गरेको छ, तर राष्ट्रिय स्तरमा पहुँच भने निकै कम छ, उनले भने–यो महोत्सवले राष्ट्रिय रुपमा सम्बन्ध स्थापित गर्न निकै ठूलो भूमिका निर्वाह गर्नेछ ।

महोत्सवमा युवाबर्गलाई पनि समेट्न उनले सुझाव दिए । साहित्यलाई फराकिलो बनाउनुपर्छ, त्यसका लागि हालका बिद्यार्थीहरुलाई पनि महोत्सवमा समेटौं, उनी भन्छन्–यसले बैदेशिक रोजगारीमा जाने दर कम गर्छ र दीर्घकालसम्म फाईदा पुग्न सक्छ । महोत्सव सम्पन्न गर्नका लागि करिब १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

महोत्सवकै अवसरमा पुस्तक प्रदर्शनी, पुस्तक विमोचन तथा हस्ताक्षरको कार्यक्रम समेत हुने सहआयोजक ¥याण्डम रिडर्स सोसाईटीका अध्यक्ष उपेन्द्र पौडेलको भनाई छ । पहिलो दिन उद्घाटनसँगै कास्की क्षेत्र नम्बर तीनका सांसद तथा विकास समितिका सभापति रविन्द्र अधिकारीको समृद्ध नेपाल नामक पुस्तकको विमोचन हुने उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: