
रञ्जन अधिकारी पोखरा, १४ माघ / विदेशी खेलाडी ओलावालेको ह्याट्रिक मद्धतमा लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लब १४ औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा पुगेको छ । विहीबार पोखरा रंगशालामा भएको रोमाञ्चकारी खेलमा मनाङले रमपम झापा ११ लाई ४–० गोलले हराएको हो । मनाङका लागि अर्को गोल सुजल श्रेष्ठले गरे । मनाङले अब उपाधिका लागि शनिबार विभागीय टोली त्रिभुवन आर्मीको सामना गर्नेछ ।
पोखरामा सहारा क्लबले आयोजना गरेको क्याराभान सहित आहारारा प्रतियोगितामा मनाङले यसअघि सात पटक फाईनल खेलिसकेको छ । तीन पल्ट उपाधि उचालेको मनाङले चार पटक उपविजेतामा चित्त बुझाएको छ । पुलिस पछि सफल टीममा मनाङ पर्दछ । मनाङलाई उपाधि होडमा उभ्याउन तीन गोलको योगदान दिने ओलावाले खेलमा म्यान अफ द म्याच बने । उनी प्रतियोगिताकै पहिलो ह्याट्रिककर्ता बने । ओलावालेले हालसम्म उच्च गोलकर्ताका रुपमा आफुलाई उभ्याउन पनि सफल भएका छन् । यसअघि, क्वार्टरफाईनलमा ईण्डियन आर्मी गोर्खा ब्रिगेडलाई २–० ले हराउँदै पहिलो जीत दर्ता गर्ने क्रममा पनि एक गोल गरेका छन् । झापा ११ बाहिरिएसँगै तीन गोल गरेका कर्ण लिम्बुको सम्भावना समाप्त भएपछि चार गोल गरिसकेका ओलावाले अब हाई स्कोरर बन्दै २५ हजार पाउने होडमा छन् ।
यसअघि दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको झापा ११ मनाङ विरुद्ध भने प्रतियोगिताकै सबैभन्दा बढि गोल अन्तरले पराजित भयो । झापाले नेपाल पुलिसलाई २–० र पाहुना टोली बंगलादेशको गजिरचाट स्पोर्टिङ क्लबलाई ४–१ गोलले हराएको थियो । खेलको १६ औं मिनेटमै ओलावालेले सुवास गुरुङको क्रसमा गोल गरे । पहिलो हाफमा एक गोलले पछि परेको झापाले दोस्रो हाफमा तीन गोल व्यहो¥यो । ७१ मिनेटमा ओलावालेले दोस्रो गोल गरे । त्यसको चार मिनेट पछि नै सुजल श्रेष्ठले टोलीका लागि तेस्रो तथा व्यक्तिगत पहिलो गोल गरे । दोस्रो हाफको अन्तिम ईन्जुरी समयमा ओलावालेले तेस्रो पटक बललाई जाली चुमाउँदा विपक्षी गोलकिपर किशोर गिरी निराश बने ।
झापा ११ ले पनि राम्रो अवसर चुकाएको थियो । सातौं मिनेटमै योगेश गुरुङ, २६ औं मिनेटमा बुद्धराज लिम्बु, ३५ र ४५ औं मिनेटमा कर्ण लिम्बु, ६७ औं मिनेटमा कप्तान नरेन्द्रमणि लिम्ब,ु ८१ औं मिनेटमा गणेश खड्का र अन्तिम ईन्जुरी समयमा दिलेन मोक्तानको प्रहार खेर गए । मनाङका कप्तान अनिल गुरुङ ४३ औं मिनेटमा ओलावालेको क्रसमा गोल गर्न चुके । ५१ औं मिनेटमा रवि सिलवालको प्रहार खेर गयो ।
दोस्रो हाफमा थपिएको ईन्जुरी टाईममा किरण चेमजोङसँग स्थानान्तरण भएका गोलकिपर दिपेश यादवसँगै मनाङका सिसोको र ओलावालेले पहेंलो कार्ड पाए । झापा ११ का हेम गुरुङलाई मात्र रेफ्री सुदिश पाण्डेले पहेंलो कार्ड देखाए ।
मनाङको यो क्याराभान सहित १३ औं सहभागिता हो । छैटौं र सातौं संस्करणमा मनाङको सहभागिता रहेन । झापा ११ को यो दोस्रो सहभागिता हो । २०५८ मा पहिलो संस्करणमा सहभागी झापा ११ ले क्वार्टरफाईनलको यात्रा तय गरेको थियो । पछिल्लो राष्ट्रिय लिगमा मनाङ तेस्रो स्थान र झापा ११ चौथो स्थानमा रहेको टीम हो । लिगका दुई भेटमा एकमा जीत र एकमा हार व्यहोरेका थिए ।
पहिलो खेलमा खेलाडी अभावले तनावमा गुज्रिएको मनाङले झापा विरुद्ध भने तीन खेलाडी थपेको थियो । तेज तामाङ, नविन न्यौपाने र सुनिल बिकलाई टीममा समावेश गरेको प्रशिक्षक छिरिङ लोप्साङ गुरुले बताए । खेलाडी नदिएकोमा आक्रोशित बनेका उनले जीतपछि खेल जितेरै देखाएको भन्दै एन्फालाई चुनौति पनि दिन भ्याए । खेलाडीहरुले राम्रो खेलेको उनको प्रतिक्रिया थियो ।
झापा ११ का प्रशिक्षक भगिरथ आले मामाले खेलाडीहरुले अपेक्षा अनुसार नतिजा दिन नसकेको बताए । उनले क्लबले जति खेल्नुपर्ने थियो त्यो अनुसार नखेलेकोमा असन्तुष्टि व्यक्त गर्दै पहिलो हाफमा एक गोल व्यहोरेपनि दोस्रो हाफमा खेलमा फर्कनुपर्ने अवस्थामा झन् मनोबल गिराएर मैदानमा उत्रिएको बताए ।
