काँग्रेसको गाउँ, नगर वडा र नगर अधिवेशन आज हुँदै

Share:

काठमाडौँ, १५ माघ-
नेपाली काँग्रेसको आसन्न १३ औँ महाधिवेशनका लागि गाउँ, नगर वडा र नगर अधिवेशन मुलुकभर एकैसाथ आज  हुँदैछ ।

आज मुलुकभर सबै गाविसमा, नगरपालिका/उपमहानगरपालिका/महानगरपालिकाका वडाहरुमा एकैसाथ काँग्रेसको प्रारम्भिक तहको निर्वाचन हुँदैछ । यद्यपि, हिमपातले जनजीवन जटिल भएका हिमाली जिल्लाका केही गाविसमा भने आवश्यकतानुसार सहमतिमा अधिवेशन दुई/चार दिन पछाडि धकेलिने सक्ने पार्टी कार्यालयले जनाएको छ ।

यस अधिवेशनमा सबै गाविस र नगर वडाबाट करिब एक लाख ४७ हजार क्षेत्रीय प्रतिनिधि तथा स्थानीय समितिका पदाधिकारी/सदस्य निर्वाचित हुने काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव प्रदीप पराजुलीले जानकारी दिनुभयो ।

मुलुकमा २०५४ सालयता स्थानीय तहको निर्वाचन हुन नसकेको अवस्थामा हुन लागेको काँग्रेसको यस अधिवेशनले स्थानीय तहमा थोरै भए पनि प्रजातान्त्रिक अभ्यासमा जनसहभागिता बढाउने विश्वास लिइएको छ । समितिले निर्वाचनका लागि सबै तीन हजार १५७ गाविस, २१७ नगरपालिका, २४० निर्वाचन क्षेत्र र ७५ जिल्लामा निर्वाचन सामग्रीका साथै निर्वाचन अधिकृतसमेत पठाइसकेको उहाँले बताउनुभयो ।

 

काँग्रेसको हरेक नगरपालिकाको वडा तहमा, गाविसको गाविस तहमा, निर्वाचन क्षेत्र र जिल्ला तहमा अधिवेशन भई कार्यसमिति गठन हुन्छ । काँग्रेसको गाउँ, नगर वडा र नगर अधिवेशन आज हुँदैछ । कुनै नगर वडा र नगर अधिवेशन एकै दिन गर्न असुविधा भए नगर अधिवेशन माघ १६ गते गर्न सकिने निर्वाचन तालिकामा उल्लेख छ ।

त्यस्तै क्षेत्रीय अधिवेशन यही माघ २२ गते र जिल्ला अधिवेशन माघ २५ गते सम्पन्न गर्नुपर्ने निर्वाचन तालिका छ । केन्द्रीय महाधिवेशन भने आगामी फागुन २०, २१, २२ र २३ गते काठमाडौँमा हुनेछ । पार्टीको १३ औँँ महाधिवेशनका लागि स्वीकृत कुल क्रियाशील सदस्य सङ्ख्या चार लाख ७० हजार ६५५ कायम भएको छ । बा¥हौँ महाविधेशनमा तीन लाख १३ हजार ८३६ जना क्रियाशील सदस्य रहेका थिए ।

गाविसको अधिवेशनबाट गाउँ कार्य समिति र क्षेत्रीय प्रनितिधि चयन हुन्छन् भने नगरका वडा अधिवशेनबाट वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयन हुन्छन् । नगर अधिवशेनमा भने त्यस नगरका सबै क्रियाशील सदस्यले मतदान गरी नगर कार्य समितिको चयन गर्ने विधानमा व्यवस्था छ । यो अधिवेशन झण्डै साढे पाँच वर्षपछि हुन लागेको हो ।

कमेन्ट गर्नुहोस्
Share: