
रञ्जन अधिकारी पोखरा, १५ माघ / पोखरामा सञ्चालित १४ औं आहारारा गोल्डकपको उपाधि कसले जित्ला ? यसको टुंगो पोखरा रंगशालामा शनिबार लाग्दैछ । १२ टीम सहभागी भएकोमा १० दिनको खेलबाट दुई टीमहरु त्रिभुवन आर्मी र लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लब उपाधिका लागि भिड्न तयार अवस्थामा छन् । पछिल्लो राष्ट्रिय लिगमा दोस्रो स्थानमा रहेको आर्मी र तेस्रो स्थानको मनाङबीचको भिडन्त रोचक बन्नेछ ।
जित्ने आधार के ?
पछिल्लो ६ भेटमा हार व्यहोरेका छैनौं ः आर्मी प्रशिक्षक मेघराज केसी
आर्मीलाई हराउन नम्बर वान त मै प्रशिक्षक छु ः मनाङ प्रशिक्षक छिरिङ लोप्साङ
प्रतियोगितामा आर्मीले पहिलो पटक उपाधि उचाल्ने लक्ष्यका साथ मैदान उत्रदाँ मनाङ भने चौथो उपाधि जित्ने रणनीतिमा हुनेछ । प्रतियोगितामा सातौं र आठौं संस्करणमा लगातार फाईनल पुगेको आर्मी दुवै पटक नेपाल पुलिससँग पराजित भएको थियो । यो नवौं सहभागितामा आर्मीले तेस्रो अवसर पाएको हो । क्याराभान सहित १३ औं सहभागितामा तीन पल्ट उपाधि उचालेको मनाङले चार पटक उपविजेतामा चित्त बुझाएको छ । मनाङ तेस्रो पटक लगातार फाईनल पुगेको हो । १२ औं मा सहारासँग १–० ले पराजित भएको मनाङ १३ औंमा थ्रीस्टारसँग १–० गोलले नै पराजित हुँदे उपाधि विमुख भएको थियो ।
प्रतियोगिता अन्तर्गत आर्मीसँगका अहिलेसम्मका भेटमा मनाङ नै हावी बनेको छ । २०६७ को नवौं संस्करण र गएको वर्ष १३ औं संस्करणमा मनाङ र आर्मी क्वार्टरफाईनलमा भिडेकोमा मनाङले नै जीत हात पारेको थियो । नवौंमा १–० र गत संस्करणमा २–१ पराजित आर्मी पोखराकै मैदानमा भएको सफल पोखरा कपको तेस्रो संस्करणमा पनि सेमिफाईनलमा २–१ ले नै पराजित भएको थियो । मनाङ दोस्रो र तेस्रो सफल पोखरा कप विजेता तथा आर्मी पहिलो संस्करणको उपविजेता पनि हो । यसर्थ, पोखरा मैदान आर्मीलाई भन्दा मनाङलाई फापेको देखिन्छ । पोखरेलीको बढि समर्थन समेत मनाङलाई नै जान्छ ।
आर्मी प्रशिक्षक मेघराज केसीले सुरुमै भनिहाले– ‘फुटबल भनेको दर्शकले हेर्ने हो, खेलाडीले खेल्ने हो । दर्शकको समर्थनकै कारण हामीलाई फरक पर्दैन ।’ आयोजक सहारा क्लबले फाईनलको अघिल्लो दिन राखेको प्रिम्याच कन्फरेन्समा उनले थपे– ‘नत्र ब्राजिलले विश्वकपमा आफ्नै देशका जर्मनीसँग सात गोल खाँदैनथ्यो होला ।’ उनले डेढ वर्ष यता क्लब सम्हालेपछि भैको ६ भेटमा एउटा खेलमा बराबरी र पाँच खेलमा मनाङलाई हराएको जानकारी दिए । पछिल्लो लिगमा पहिलो खेलमा दुवै टीमले बराबरी खेलेका थिए भने दोस्रो खेलमा आर्मीले १–० गोलले हराएको थियो । मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले यसरी जवाफ फर्काए – ‘आर्मीलाई जित्न त मै चेञ्ज छु । नम्वर वान कुरो त, पहिले म प्रशिक्षक थिईनँ त्यसैले पराजित भयो होला । खेलाडीहरुमा जोश छ ।’
दुवै प्रशिक्षकले केहि खेलाडीहरु नभएपनि खासै फरक नपर्ने बताए । बंगबन्धु गोल्डकप खेलेका मनाङका सात जना खेलाडीहरु कप्तान विराज महर्जन, विमल घर्ती मगर, अञ्जन विष्ट, विक्रम लामा, विशाल राई, हेमन गुरुङ र अनन्त तामाङ साथै आर्मीका नवयुग श्रेष्ठ र गोलकिपर विकेश कुथु राष्ट्रिय टीममा छन् । त्यसका सट्टामा उही स्तरका अन्य खेलाडीहरु रहेकाले खासै फरक नपर्ने दुवै प्रशिक्षकले बताए । आर्मीका प्रशिक्षक केसीले त यो सिजनमा मनाङ अहिले नआएका खेलाडी अधिकांश लिगमै नखेलेकाले पहिलेको मनाङलाई जित्दाको खेल र अहिले अन्तर नहुने समेत प्रष्ट पारे । ‘अहिले नआएका खेलाडीहरु भर्खर अनुबन्ध भएका होलान् । मनाङमा त्यो भन्दा राम्रा खेलाडी भएकाले कम आँक्दैनौं । जित्न मेहनत गर्नेछौं ।’ केसीले भने ‘आर्मीका खेलाडी रेफ्रीको अन्तिम सिठ्ठी नबजेसम्म मैदानमा कडा मेहनत गरिरहनेछन् । त्यही हाम्रो प्लस प्वोईन्ट हो ।’
कप्तान भरत खवासले भने टेक बुढाथोकी सहित केहि खेलाडीहरु घाईते भएकोले टीमकोे तालमेलमा केहि असर पर्न सक्ने बताए । पहिलेको नतिजाबाट मनोबल उच्च रहेको भन्दै उनले थपे– ‘यसपाली जसरी नि उपाधि जित्ने रणनीतिमा हामी छौं, शारीरिक तथा मानसिक रुपमा पुर्ण तयार छौं ।’
मनाङका कप्तान अनिल गुरुङले प्रशिक्षण पनि राम्रो भएकोले फाईनलमा आर्मीसँग उपाधि भिडन्त प्रतिष्पर्धात्मक हुने बताए । विपक्षी टीम उत्तिकै मजबुत भएकाले जीत निकाल्न कठिन भएपनि जसले पहिले स्कोर गर्छ, उसको सम्भावना बढि रहेको उनले बताए ।
दुबै टिम ४ः४ः२ को रणनितिमा मैदानमा उत्रिने प्रशिक्षकहरुले बताए । यसैबीच, प्रशिक्षक लोप्साङले एन्फाको कारण खेलाडी अभाव हुँदा पोखरेलीकै लागि मैदान उत्रिएपनि उपाधि होडमा उभिएको र केहि खेलाडी थपिएपछि बलियो बनेको स्मरण गरे तर एन्फाको कार्यशैलीप्रति असन्तुष्ट मनाङले के निर्णय ग¥यो भन्ने बारे भने खुलाएनन् । पहिलो खेलमा अभाव भएपनि दोस्रो खेलमा मनाङले तीन खेलाडीहरु नविन न्यौपाने, तेज तामाङ र सुनिल विकलाई समावेश गरेको थियो ।
यो संस्करणमा फाईनलसम्म आउँदा दुवै टीमले समान ६ गोल गर्दा एक गोल पनि खाएका छैनन् । आर्मीले तीन खेल तथा मनाङले दुई खेल खेल्यो । बाई पाएर सिधै क्वार्टर फाईनल खेलेको मनाङले पहिलो खेलमा ईण्डियन आर्मी गोर्खा ब्रिगेडलाई २–० तथा सेमिफाईनलमा झापा ११ लाई ४–० ले हराएको थियो । आर्मीले प्रिक्वार्टरमा जावलाखेल युथ क्लबलाई २–०, दोस्रो खेलमा थ्रीस्टार विरुद्ध १–० गोल अन्तरले नतिजा आफ्नो पक्षमा पार्दा फाईनल प्रवेश गर्ने क्रममा आयोजक सहारालाई २–० ले पराजित गरेको थियो ।
प्रतियोगितामा १० खेलसम्म २६ गोल भएको छ । प्रिक्वार्टरमा १०, क्वार्टरफाईनलमा १० र सेमिफाईनलमा ६ गोल भए । प्रतियोगिता अवधिभर ईण्डियन आर्मीका प्रशान्त गुरुङले मात्र रातो कार्ड व्यहोरे । मनाङलाई उपाधि होडमा उभ्याउन तीन गोलको योगदान दिने ओलावाले ४ गोलका साथ उच्च गोलकर्ताको खेलाडी सुचीमा पहिलो स्थानमा छन् । तीन गोल गर्ने कर्ण लिम्बुको झापा ११ पराजित भएसँगै सम्भावना सकियो ।
आज फाईनल खेल :
त्रिभुवन आर्मी र लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लब
