
पोखरा, १८ माघ-
कास्कीका नौ ताललाई एउटै समूहमा राखी रामसारमा सूचीकृत गरिएको छ ।
जैविक विविधताको निश्चित मापदण्ड पूरा गरेका पोखराका फेवा, रुपा, बेगनास, खास्टे, कमलपोखरी, गुइडे, नेउरेली, दिपाङ, खास्टे र मैदीताललाई जेनेभास्थित रामसारको सचिवालयले सामूहिकरुपमा रामसारमा सूचीकृत गरेको औपचारिक प्रमाण भोलि पोखरामा प्रदान गर्नेछ ।
पोखरा उपत्यका ताल संरक्षण समिति कास्कीका संयोजक एवम् स्थानीय विकास अधिकारी रामचन्द्र तिवारीका अनुसार भोलि सचिवालयबाट आएका प्रतिनिधिले औपचारिक प्रमाणपत्र प्रदान गरेसँगै कास्कीका नौवटा ताल रामसारमा सूचीकृत हुनेछन् ।
कास्कीका यी तालका पानीले ओगटेको क्षेत्र ९२४ हेक्टर रहेको जानकारी गराउँदै उनले यी तालको जलाधार क्षेत्र र तालसँग अन्तर सम्बन्धित सेती जलाधार क्षेत्रसमेत गरी पोखरा उपत्यकाका तालको सञ्जालले ओगटेको कुल क्षेत्रफल दुई हजार ६१० हेक्टर हुन आउने जानकारी दिए ।
पोखराको सम्पूर्ण पर्यापर्यटन यिनै तालमा निर्भर रहेको उनको भनाइ छ । वन तथा भूसंरक्षण मन्त्रालयका सहसचिव विजयराज पौडेलले रामसार सूचीमा सूचीकृत भएसँगै यी तालको संरक्षण र विकासमा महत्वपूर्ण सहयोग पुग्ने बताए ।
कास्कीका ताल सूचीकृत भएसँगै नेपालमा रामसारको सङ्ख्या १० पुगेको छ । पोखराका नौ ताललाई एकै समूहमा राखी रामसारमा सूचीकृत गरिनु विश्व मै अनुपम नमुना भएको प्रकृति र प्राकृतिक स्रोतको संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ (आइयुसिएन) का नेपाल प्रतिनिधि यमबहादुर मल्लले बताए ।
