यू-१९ क्रिकेट: नेपाल भारतसँग पराजित

Share:

काठमाडौं, माघ १८-
यु–१९ विश्वकप क्रिकेटअन्तर्गत् समूहको अन्तिम खेलमा नेपाललाई भारतले ७ विकेटले हराएको छ ।

बंगलादेशको ढाकामा सोमबार भएको खेलमा नेपालले दिएको १६९ रनको सामान्य लक्ष्य भारतले १९औं ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

भारतको जितमा सुरुआती व्याट्सम्यान रिशव पन्तले २४ बलमा ७८ रनको योगदान दिए । १८ बलमा ५० रन जोडेका पन्तले यु–१९ क्रिकेटमा सर्वाधिक कम बलमा अर्धशतक बनाउने कीर्तिमान राखेका छन् ।

यसैगरी, अर्का सुरुआती व्याट्सम्यान इशान किसनले ४० बलमा ५२ रन जोडे । बलिङतर्फ नेपालका प्रेम तामाङले दुई तथा सन्दिप लामिछानेले एक विकेट लिए ।

नेपाली बलरहरुलाई सुरुदेखि नै दबाबमा राखेका भारतीय ब्याट्सम्यानहरुले विस्फोटक ब्याटिङ गरेका थिए । यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४८ ओभरमा ८ विकेट गुमाएर १६९ रन बनाएको थियो ।

नेपालका लागि सुरुआती ब्याट्सम्यान सन्दिप सुनारले ३७ रन जोडे भने राजवीर सिंहले ३५ रन जोडे । यसैगरी, प्रेम तामाङले अविजित २९ रन जोडेको इनिङमा आरिफ शेखले २६ रनको योगदान दिए । बलिङतर्फ भारतका अभेस खानले तीन विकेट लिए ।

यो खेल जित्दै भारत समूह ‘डी’को विजेता बनेको छ भने उपविजेता बनेको नेपाल पनि क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्
Share: