
पोखरा १८ माघ-
जिल्ला विकास समिति कास्कीले जिल्लामा एक घर एक धारा अभियान संचालन गर्ने वताईरहेका वेला कास्कीको उत्तर पुर्वी भेकमा संचालित थाक खानेपानी आयोजनाको मर्मत संभारको अभावमा सो क्षेत्रमा पीउने पानीको समस्या भएको छ ।
रकम अभावमा खानेपानीको पाईपलाईन मर्मत हुन सकेको छैन जसले गर्दा धारावाट पानी झर्न छाडेको छ । जिल्ला विकास समितिले चालु आर्थिक वर्षमा मर्मतका लागी कत्तिपनि रकम नछुट्याएपछि करोडौको लागतमा सम्पन्न खानेपानी योजना अलपत्र वन्दै गएको छ ।
थाक खानेपानी आयोजनाको पानी कास्कीको कालिका , माझठाना, हंसपुर गाविस र लेखनाथ नगरपालिकाको राखिडाडा र वेगनासका उपभोक्ताले उपभोग गर्दै आएका छन् । स्थानीय क्षेत्रमा भएका पानीका मुहानहरु सुक्दै गएको र राष्ट्रिय योजनाको पानी समेत आउन छाडेपछि अहिले सो क्षेत्रका सर्वसाधारणको दैनिकीमा समेत प्रतिकुल प्रभाव पर्न थालेको छ । गाँउ नजिकै पानीका अन्य कुनै वैकल्पीक स्रोतहरु नभएपछि माझठाना, हंसपुर र वेगनासका उपभोक्ताहरु वढी मारमा परेका छन् । महिलाहरु घण्टौ लगाएर टाढा टाढा रहेका पुराना पानीका मुहानहरु खोज्दै हिड्न थालेका छन् । अहिले वालवालिका पढ्ने विद्यालयका धारामा समेत पानी झर्न छाडेको छ । पानी अभावकै कारण सो क्षेत्रमा पशुपालन व्यवसाय नराम्ररी प्रभावित हुन पुगेको छ ।
माझठाना गाविस स्थित रत्नशोभा माविका विद्यार्थीहरुले त यतिवेला विद्यालय जाँदा पाठ्यपुस्तक सँगै वोत्तलमा पानी लगेर पीउने पानीको जोहो गर्नुपरेको स्थानीयवासि लालमोहन तीवारीले वताए । स्कुल तथा घर नजिकका धारामा पानी नआएपछि स्कुले वालवालिकाहरु घण्टौ लगाएर नजिकको चिप्लेडी खोलामा पुग्छन् । त्यहा पनी लामो समयसम्म पालो पर्खनुपर्छ । अनी एक गाग्री पानी काखी च्यापेर घर फर्कन्छन् । असोज देखी जेष्ठ महिनासम्म विशेस गरि हिउदको समयमा त्यहाका मानिसहरु थाक खानेपानी आयोजनाकै पानीमा निर्भर हुने गर्दछन ।
पाईपलाईन मर्मत संभारमा मुल उपभोक्ता समितिले समेत चासो नदेखाएको उपभोक्ताहरुको गुनासो छ । मानवहादुर जिसी अध्यक्ष रहेको मुल उपभोक्ता समितिको पदावधि सकिएको पनि पाँच वर्ष पुगिसकेको छ । राजनीतिक दलहरुको स्वार्थका कारण नत नया समिति नै वन्न सकेको छ नत पुरानोले नै काम गर्न पाएको छ । खानेपानी जस्तो सस्थामा समेत दलिय स्वार्थ र अडानका कारण उपभोक्ता मारमा परेका छन् । मुल उपभोक्ता समिति निष्कृय हुँदा आयोजना संचालित क्षेत्रका गाउ विकास समितिले मर्मतका लागी छुट्याएको स –सानो रकम पनि उपयोगमा आउन सकेको छैन ।
