कास्कीका नौ वटै ताल आजदेखि अन्तर्राष्ट्रियकरण, रामसारमा सूचीकृत भएको प्रमाणपत्र प्राप्त

Share:

पोखरा, १९ माघ-
कास्कीका नौवटा ताललाई एउटै समूहमा राखी आजदेखि रामसारमा सूचिकृत भएको प्रमाणपत्र प्राप्त भएसँगै कास्कीका ताल आजदेखि अन्तर्राष्ट्रियकरण भएका छन् ।
विश्व सिमसार दिवस, २०१६ का अवसरमा जेनेभास्थित रामसारको सचिवालयले रामसारमा सूचीकृत भएको प्रमाणपत्र प्रदान गरेको हो ।
जैविक विविधताको निश्चित मापदण्ड पुरा गरेका पोखराका फेवा, रुपा, बेगनास, खास्टे, कमलपोखरी, गुइडे, नेउरेली, दिपाङ र मैदीताललाई जेनेभास्थित रामसारको सचिवालयका सल्लाहकार डा. लिउ योङले वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटालाई सामूहिकरुपमा रामसारमा सूचिकृत गरेको औपचारिक प्रमाणपत्र एक कार्यक्रमकाबीच हस्तान्तरण गरे ।
सन् २००८ मा सरकारले पोखरा उपत्यकाका ताललाई केन्द्रित गरी विकास समिति ऐनको परिधिमा रही राष्ट्रिय ताल संरक्षण विकास समिति गठन गरी पोखराका ताललाई रामसार सूचिमा समावेश गर्नकालागि सम्भाव्यता अध्ययन गरी प्रतिवेदन पेस गरेको थियो ।
प्रतिवेदनको आधारमा र पटक पटक ताल समिति र सरोकारवालाबीच छलफल गरी रामसार इन्फरमेसन शिट (आरआइएस) तयार गरी अनलाइन एप्लिकेशन प्रस्तुत गरिएको थियो ।
विभिन्न चरणमा रामसार सचिवालयका कर्मचारीसँग छलफल गरी आरआइएसलाई अन्तिमरुप दिएसँगै सचिवालयले तालहरू रामसारमा सूचिकृत भएको प्रमाणपत्र प्रदान गरेको हो ।
एक पटक रामसारमा सूचिकृत भएपछि प्रत्येक छ वर्षको अन्तरालमा आरआइएसलाई अद्यावधिक गर्नुपर्ने प्रावधान छ ।
त्यस्तै, सूचिकृत सिमसार क्षेत्रको व्यवस्थापन गर्दा र सूचना अद्यावधिक गर्दा एकातर्फ साइन्टिफिक टेक्निकल रिभ्यु प्यानल (एसटीआरपी) र अर्कोतर्फ कम्युनिकेसन एजुकेसन पार्टीसिपेसन एन्ड एवारनेस (सीइपीए) कार्यक्रममार्फत जानुपर्ने प्रावधान राखिएको छ ।
सन् १९८७ मा कोशी टप्पु वन्यजन्तु आरक्षलाई रामसार क्षेत्र घोषणा गरी नेपाल रामसार महासन्धिमा प्रवेश गरेको हो । नेपालमा हालसम्म सोलुखुम्बुको गोक्यो, रसुवाको गोसाइकुण्ड, कपिलवस्तुको जगदीशपुर, मुगुको रारा, कैलालीको घोडाघोडी, डोल्पाको शे–फोक्सुण्डो, ईलामको माइपोखरी र चितवनको बीसहजारीताल रामसारमा सूचिकृत भइसकेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: