काठमाडौं, माघ २० / अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपालका अन्डर–१९ क्रिकेट टोलीका कप्तान राजु रिजाललाई उमेर विवादमा सफाइ दिएको छ। आईसीसीले रिजालको उमेर बढि रहेको भन्ने कुरा पुष्टि नभएको भन्दै उनलाई सफाइ दिएको हो।
बंगलादेशमा जारी आईसीसी अन्डर १९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालको कप्तानी गरिरहेका रिजालको उमेर १९ वर्ष भन्दा बढी रहेको कुनै प्रमाण फेला नपरेको भन्दै प्रतियोगिताका बाँकी खेल खेल्न सक्ने स्पष्ट पारेको छ।
उमेर विवादबारे आईसीसीले भनेको छ–’हामीले राजुको उमेरवारे अध्ययन गरेका छौँ। तर अध्ययनका क्रममा उसको उमेर १९ वर्ष भन्दा बढी भएको कुनै प्रमाण फेला पर्न सकेन । त्यसैले उनी बाँकी खेल खेल्न योग्य छन्। ’
भारतका क्रिकेटर कौस्तुभ पावरले नेपाली टोलीका कम्प्तान राजुको उमेर २५ वर्ष पुगेको भन्दै ट्वीटरमा ट्वीट गरेपछि विवादमा तानिएका थिए। अन्डर–१९ विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा सोमवार नेपालले भारतसँग ७ विकेटले पराजित भएपछि भारतीय क्रिकेटर कौस्तुभले नेपाली कप्तान राजुको उमेर १९ वर्ष भन्दा बढि रहेको भन्दै विवादमा तानेका थिए। त्यसपछि नेपाली कप्तान राजु रिजाललाई भारतीय मिडियाले विवादमा ल्याएपछि आईसीसीले उमेरका विषयमा अध्ययन गरेको हो।
आईसीसीले अनुसन्धान गर्दा नेपाली क्रिकेट संघ (क्यान)ले पेश गरेको रिजालको कागजातमा १९ वर्षभन्दा बढी उमेर भएको नपाइएको बताएको छ। राजुको उमेरबारे आइसीसीले क्यानले उपलब्ध गराएको पासपोर्ट लगायत कागजातबारे अध्ययन गरेको थियो।
