
रञ्जन अधिकारी पोखरा २८ माघ । पोखरा १५ की १८ वर्षिय यरुना पुन ‘नेहा’ हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेपनि अनुसन्धान प्रक्रियाप्रति असन्तुष्टी जनाउदै विहिवार पोखरामा प्रदर्शन भएको छ । पक्राउ परेका अभियुक्त कृतन खड्गी (सतिश) को वयानका आधारमा प्रहरीले सार्वजनिक गरेको घटनाविवरण प्रति पनि उनिहरुले असन्तुष्टी जनाएका छन् ।
प्रहरीको सार्वजनिक गरेको घटनाविवरण पूर्ण नभएको र हत्यामा अन्य ब्यक्तिहरु पनि संलग्न भएको उनिहरुको दाबी छ । युवतीमाथि सामुहिक वलात्कारपछि हत्या भएको दाबी गर्दै उनिहरुले प्रहरीको अनुसन्धानमाथिनै प्रश्न उठाएका छन् ।
दवाव स्वरुप मानवअधिकारचोकबाट सुरु भएको ¥याली चिप्लेढुङ्गा, गैह्रापाटन, पालिखेचोक, महेन्द्रपुल, नयाँबजार, पृथ्बीचोक, सिर्जनाचोक, राष्ट्रबैंकचोक हुदै जिल्ला प्रशासन अघि गएर टुङ्गिएको थियो । पुन समाज पोखराको अगुवाईमा भएको ¥यालीमा अधिकारकर्मी, बिद्यार्थी, आमासमुह लगायतको उपस्थिति थियो । उनिहरुले हत्यारालाई कारबाही गर, पोष्टमार्टम रिपोर्ट सार्वजनिक गर, सुरक्षित समाज निर्माण गर, महिला हिंसा अन्त्य गर लगायतका नारा लेखिएको प्लेकार्ड तथा ब्यानर वोकेका थिए ।
¥यालीपछि पुन समाज पोखरा र महिला मानवअधिकार रक्षक सञ्जालले जिल्ला प्रशासन कार्यालयमा छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउदै प्रहरीले सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धान विवरण गलत भएकाले पुन अनुसन्धान गरी घटनामा संलग्न अन्यलाई पनि कानुनी दायरामा ल्याउन माग गरेका छन् ।
मृतक युवतीको शब बैज्ञानिक परिक्षण गर्नुको साथै पोष्टमार्टम रिपोर्ट सार्वजनिक गर्नुपर्ने, अनुसन्धानपछि थप अभियुक्त पक्राउ गरी सजाय दिनुपर्ने, घटनास्थलमा शबसँगै फेला परेका कपडाको बैज्ञानिक परिक्षण गर्नुपर्ने र अपराधीलाई कानुन अनुसार आजिवन कारावासको सजाय हुनुपर्ने उनिहरुको माग छ ।
ज्ञापनपत्र बुझाउदै पुन समाजका कास्की अध्यक्ष क्या. बलबहादुर पुनले घटनास्थलको प्रकृति हेर्दापनि अन्य स्थानबाट बलात्कार पछि हत्या गरी सो स्थानमा ल्याएर फालिएको आशंका गरिएकाले गहिरो अनुसन्धान गर्न आग्रह गरे । प्रहरीले अभियुक्तलाई उन्मुक्ति दिने, मृतकको चरित्र हत्याउने र घटनालाई फित्तला बनाउने गरी अनुसन्धान गरेको उनको आरोप छ ।
युवतीको शब घर नजिकै हत्या गरि फालिएको अवस्थामा माघ १९ गते विहान भेटिएको थियो । घटनामा संलग्न अभियुक्तलाई प्रहरीले माघ २५ गते सार्वजनिक गरेको थियो । घटनामा संलग्न सबै अभियुक्त पक्राउ परेर कारवाही सुनिश्चितता नभएसम्म शब नउठाउने पिडितको अडान छ । शव अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा छ । पोष्टमार्टमको थप रिपोर्टका लागि काठमाण्डौं पठाईएको प्रहरीले जनाएको छ ।
