‘सिरकमा लागेको रगत सुई लगाउँदा आएको, कोइरालाको निधारमा चोट थिएन’ डाक्टर योगी

Share:

काठमाडौं, माघ २८ / पूर्व प्रधानमन्त्री सुशील कोइरालाका निजी चिकित्सक डा. कविरनाथ योगीले त्रिवि शिक्षण अस्पतालको एक्सचेन्जको टेलिफोन नउठ्दा कोइरालालाई उपचारका लागि अस्पताल लान नसकिएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले आफ्नो मोबाईल देखाउँदै भने, ‘मैले टिचिङको एक्सचेन्जमा एम्बुलेन्सका लागि १३ पटक फोन गरें तर फोन उठेन । पूर्व राष्ट्रपति डा. रामबरण यादवलाई पनि टेलिफोन गरे । मैले ईन्जेक्सन लगाउँदै एम्बुलेन्स ल्याऔं भनि सल्लाह गर्दै फोन गरिरहेको थिएँ । कोइराला निवासमा सवारी साधन भए पनि अक्सिजन विनाको सवारी साधनमा लिएर जान झनै जोखिम हुने थियो ।’

उनले कोइरालालाई अस्पताल भर्ना गर्न सोमबार टिचिङको ६०१ नम्बर बेड बुक गरिएको भए पनि उनको स्वास्थ्य अवस्थामा सुधार आई सामान्य अवस्था बनेकोले पहिला नै अस्पताल नलगिएको स्पष्ट पारे । डा. योगीले भने, ‘सुशील दाईले शुक्रबार ज्वरो आए जस्तो भयो भन्नु भयो त्यसको उपचार गरियो ।

शनिबार अलि गाह्रो भयो भन्नु भयो एन्टिबायोटिक सुरु गरियो । आईतबार बिहान ६ बजे बोलाउनुभयो म साढे ६ बजे पुगे, त्यसबेला पनि उहाँको स्वास्थ्य स्थिर थियो । उहाँले जाउलो खानु भयो ज्वरो पनि थिएन । राति साढे नौ बजे म घर गए । त्यसपछि अतुलजीले फोन गरेर स्वास लिन गाह्रो भयो आउनुस भन्नु भयो ।’ उनले त्यसपछि आफू केही ईन्जेक्सन लिएर पुग्दा सुशीलको अवस्था बिग्रिसकेको पाएको पनि बताए । ‘मैले तीनबाट ईन्जेक्सन लगाएँ, यी सबै काम गर्दा गर्दै अस्पताल लान भ्याईएन,’ उनले भने ।

उनले इन्जेक्सन लगाउने बेलामा हात थिचेर सुतेकोले आफूले इन्जेक्सन लगाउन हात निकाल्नु पर्‍यो भन्दा उहाँले ‘ए बुझें’ भनेर भनेको विषयलाई अपब्याख्या गरिएको पनि बताए । ‘ईन्जेक्सन लगाउँदा निस्किएर लुगामा लागेको रगत देखाएर अनेक प्रचार गरियो,’ उनले भने ।

डा. योगीले निधारमा कुनै पनि चोट नभएको दावी गर्दै सुशीलले राति शौचालय जाने बेलामा अलि लरबरिएर बेसिनको सहारा लिएको र सो क्रममा टाउकोको पछाडी अलिकति छोएको भए पनि कुनै चोट भने आफूले नपाएको बताए ।

उनले भने, ‘बाहिर आशंका गरिएजस्तो टाउकोमा चोट थिएन त्यो दाहसंस्कार गर्ने बेलामा नुहाउँदा पुष्टि भईसकेको छ ।’

डा. योगीले राती १२ बजे आफूले ईन्जेक्सन लगाएको र त्यसपछि साढे १२ बजे सीपीआर गरेको जानकारी दिदै त्यस अवस्थासम्म कोइराला बोलि नै रहेको पनि बताए ।

कोइरालाको निधारमा चोट थिएन: डा. योगी

पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालाको निधारमा कुनै पनि चोट नभएको उनको निजी चिकित्सक प्रा.डा. करविरनाथ योगीले बताएका छन् ।

गत आइतबार राति शौचालय जाने बेलामा कोइरालाले लरबरिएर बेसिनको सहारा भने लिएका थिए । डा. योगीले बिहीबार कान्तिपुरसँग भने, ‘त्यो पनि निधारतिर होइन टाउकाको पछाडि भाग पर्खालसँग छोएको मात्र हो, तर त्यसले कुनै चोट लागेको थिएन, म स्वयंले नै हेरेको थिएँ ।’

केही महिनायता दिनहुँ बिहान पशुपतिबाट आउने एक पण्डितले कोइरालालगायत निवासमा भएका सबै जनालाई चन्दन लगाउने गरेको उल्लेख गर्दै डा. योगीले भने, ‘मंगलबार बिहान उनी आए तर एक्कासि त्यो स्थिति देख्दा भावुक भएर होला सवै चन्दन पार्थिव शरीरको टाउकोमा लगाएर फर्किएका थिए ।’

पशुपतिमा पार्थिव शरीरलाई नुहाएर लुगा फेर्दा चन्दन पखालिएपछि सबैले निधार/टाउकोमा कुनै दाग नदेखेपछि चोट लागेको हल्ला आफैं सकिएको उनले बताए । ‘नुहाउन लाग्दा सबैको आँखा उनको निधारमै थियो, चन्दन पखालिएपछि त्यहाँ सामान्य छाला भएको हेरेपछि धेरै जनाको उत्सुकता शान्त भएजस्तो देखियो,’ डा. योगीले भने ।

कोइरालाको सिरकमा एक थोपा रगत राति आफूले सियोका माध्यमले एन्टिबायोटिक लगाएपछि परेको जनाउँदै डा. योगीले भने, ‘उनलाई बचाउने प्रयास गर्दा गर्दै सोमबार राति अस्पताल लैजान म र अतुलजीले थुप्रैपटक थुप्रै ठाउँमा फोन गरे पनि कसैले उठाएन, जतिखेर सम्पर्क भयो त्यतिबेला पूर्वप्रधानमन्त्रीज्यू बितिसक्नुभएको थियो ।’

पहिलेको दाँजोमा कोइरालाको रक्तचाप, नाडीको चाल, श्वासप्रश्वास आदिको स्थितिमा गत सोमबार सुधार देखिएकाले त्रिवि शिक्षण अस्पतालमा बुक गरिएको ६०१ नम्बरको बेड शशांक कोइराला आदि सँगको छलफलपछि क्यान्सिल गरिएको बताए ।

Source: Ekantipur.com

कमेन्ट गर्नुहोस्
Share: