
गुवाहटी, माघ २८ – बाह्रौं सागको पुरुष फुटबलमा नेपालले सेमिफाइनलमा माल्दिभ्ससँग खेल्नु पर्ने भएको छ । गुवाहटीमा भएको समूह चरणको अन्तिम खेलमा बिहीबार बंगलादेशसँग २–१ ले पराजित भएपछि नेपालले सेफिाइनलमा माल्दिभ्सलाई प्रतिद्वन्द्वी पाएको छ ।
बंगलादेशसँगको खेल नेपालले जितेको वा बराबरी भएको खण्डमा सेमिफाइनलमा भारतसित खेल्नु पर्ने थियो । भारत उपाधिको दावेदार हो । अब नेपालले सेमिफाइनलमा शनिबार माल्दिभ्ससँग खेल्ने छ । बंगलादेशसँगको खेलको तेस्रो मिनेटमा जगजित श्रेष्ठले हानेको कर्नरमा अनन्त तामाङले हेडमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाए पनि त्यसलाई जोगाउन नसक्दा नेपाल पराजित भयो । खेलको ४० औँ मिनेटमा बंगलादेशका रेहमान हसनले तथा ४५ औं मिनेटमा मोहम्मद जिवानले गोल गर्दै बंगलादेशलाई २–१ को अग्रता दिलाए । त्यसपछि गोलका अवसरहरु बने पनि दुवै टोलीले गोल गर्न सकेनन् । नेपालले यसअघि भएको समूह चरणको पहिलो खेलमा भुटानलाई ५–० ले हराएको थियो ।
समूह ए बाट माल्दिभ्स समूह विजेता तथा भारत उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छन् । नेपालसँगको जितपछि बंगलादेश समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
साग : महिला फुटबलमा नेपाल फाइनलमा
बाह्रौं सागको महिला फुटबलमा नेपाल फाइनलमा पुगेको छ । सिलोङस्थित जवरलाल नेहरु स्टेडियममा बिहीबार भएको खेलमा भारतलाई गोलरहित बराबरीमा रोक्दै नेपालले फाइनल यात्रा तय गरेको हो । सागको महिला फुटबलमा ५ टिमको सहभागिता रहेका कारण राउण्ड रोबिन लिगपछि शीर्ष २ मा पर्ने २ टिमबिच फाइनल हुने छ । बिहीबारको बराबरीले नेपाल शीर्ष २ मा रहने पक्का भएको हो । नेपालको ३ खेलबाट ७ अंक छ । समान ३ खेल नै खेलेका बंगलादेशको ६ तथा भारतको ५ अंक छ । अब बंगलादेश र भारत तथा नेपाल र श्रीलंकाबिच शनिबार खेल हुने छ ।
शनिबार बंगलादेश र भारतबिचको खेलको नतिजापछि नेपालसँग फाइनल खेल्ने टिमको टुंगो लाग्ने छ । प्रतियोगितामा नेपालसँग २–० ले हारेको माल्दिभ्स र ५–० ले हारेको श्रीलंकाको फाइनलमा पुग्ने संभावना छैन ।
बिहीबारको खेलमा नेपाल र भारतका दुवै टिमले गोल गर्ने थुप्रै प्रयास गरेपनि त्यसलाई गोलकिपरले सफल हुन दिएनन् । नेपाली टिमकी किपर लिला लामगादेले उत्कृष्ट प्रदर्शन गरिन् । २० औं मिनेटमा सावित्री भण्डारीले डिबक्स नजिकैबाट गरेको हेडलाई भारतीय किपर अदिती चौहानले बचाएकी थिइन् । ४८ औं मिनेटमा निरु थपाले हानेको फ्रिकिकलाई पनि चौहानले उत्कृष्ट तरिकाले रोकिन् । ७४ औं मिनेटमा दिपा अधिकारीले दिएको क्रसमा कप्तान अनु लामाले हेड गरेपनि त्यो बलले पोष्टको दिशा लिन सकेन ।
भारतसँगको पहिलो बराबरी
भारतसँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा पुगेपछि नेपाली टिमका प्रशिक्षक ध्रुब केसी निक्कै खुसी थिए । खेलपछिको पत्रकार सम्मेलनमा नेपाली टिमका प्रशिक्षक दोश्रो हाफमा नेपालले रक्षात्मक खेलेको स्वीकारे । बराबरीले टिम फाइनलमा पुग्ने भएकाले आफूले जोखिम नउठाएको उनको भनाई थियो ।यसअघि भारतसँग खेलेका सबै ५ खेल हारेको नेपालको महिला फुटबल टिमले पहिलो पल्ट भारतलाई बराबरीमा रोकेको हो । पछिल्लो पल्ट सन् २०१४ मा पाकिस्तानमा भएको साफ फुटबलको फाइनलमा त नेपालले भारतसित ६–० को हार व्यहोर्नु परेको थियो । यो नेपाली महिला फुटबल टिमको इतिहासमा पनि पहिलो बराबरी हो ।
फाइनलमा बंगलादेशसँग खेल्ने चाहना
नेपाली महिला टिमका प्रशिक्षक केसीले फाइनलमा बंगलादेशसँग खेल्न पाए आफूहरुलाई सजिलो हुने प्रतिक्रिया दिए । ‘भारतीय टिम हामीभन्दा बलियो छ, उसलाई हराउन सकेका छैनौं’ केसीले भने ‘तर बंगलादेशलाई हामीले धेरै पटक हराई सकेका छौं ।’ सन् २०१० यता बंगलादेशसँग खेलेका सबै ४ खेलमा नेपाल विजयी भएको छ ।
