
रेम बिक पोखरा, ३ फागुन । अन्ततः विन्दबासिनी यातायात बस व्यवसायी समितिका गाडीहरु पोखरामा संचालनमा आउने भएका छन् । प्रशासनको आग्रहमा केहि दिन चुप लागेर बसेपनि उसले समन्वयात्मक भुमिका नखेलेको भन्दै समितिले जोखिम मोलेरै भएपनि आफ्नै तरिकाले गाडीहरु संचालनमा ल्याउने भएको हो । प्रशासनले भने पर्याप्त छलफल विना अघि बढेमा केहि गर्न नसकिने स्पष्ट पारेको छ ।
‘हामीले प्रशासनले दिएको समय कुरेर बारम्बार सम्पर्क गरेपनि प्रमुख जिल्ला अधिकारीले आलटाल मात्र गरिरहनुभयो । त्यताबाट केहि हुने नदेखेपछि हामी आफैँ कस्सिएका हौँ ।’ विन्दबासिनी यातायात बस व्यवसायी समितिका उपाध्यक्ष नेत्र सारुले भने– ‘हामीलाई पब्लिकको साथ पनि मिलेको छ ।’ सोमबार विहान ९ः३० बजे महेन्द्रपुल चोकबाट गाडी संचालन गर्ने गरि हामीले तयारी गरिसकेका छौँ ।
विन्दबासिनी यातायात बस व्यवसायी समितिको गाडी संचालनलाई लिएर पोखराका सर्वसाधारणहरु पनि निकै उत्साहित भएको समितिले दाबी गरेको छ । उसले दिएको जानकारी अनुसार सोमबार सर्वसाधारणहरुले फुलमालाले सजाएर विन्दबासिनी यातायातका बसहरु संचालन गराउने कार्यक्रम रहेको छ । विशेष गरि नयाँबजारबासीहरु विन्दबासीनी यातायात बस व्यवसायी समितिका गाडी संचालनका लागि आतुर देखिएको समितिका सचिव रामचन्द्र अधिकारीको दाबी छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले भने प्रशासनले गाडी संचालनका लागि समन्वय गरिरहेको बताए । उनले भनेका छन्– ‘हामी यातायात व्यवस्था समितिसँग रुट व्यवस्थापनको सम्बन्धमा छलफल गरिरहेका छौँ । र, छलफल अझै चलिरहेकै छ । सोमबार विहान छलफल बसेर अन्तिम निश्कर्ष निकाल्ने गरि काम अगाडि बढेको छ ।’ उनले प्रशासनले भन्दाभन्दै अटेर गरेर गाडी संचालन गरेको खण्डमा आफुहरुको तर्फबाट केहि गर्न नसकिने समेत बताएका छन् ।
पोखरामा नगर बस संचालन गर्दै आएको पुराना यातायात व्यवसायीहरु पनि नयाँ गाडी संचालनका सवालमा सकारात्मक हुँदै गएको उनले बताए । माघ २२ देखि बस सञ्चालनमा आउने भनिएपनि पुराना यातायात व्यवसायीले सडक नै कब्जा गरेर सार्वजनिक गाडी नचलाई आन्दोलनमा उत्रिएका थिए ।
