पोखरा औद्योगिक व्यापार मेलाको धमाधम स्टल बुकिङ

Share:

पोखरा, ३ फागुन-
फागुनको चौथो साता पोखरामा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७२ को तयारी तीब्र गतिमा अगाडि बढेको छ । मेला नजिकिँदै गर्दा मेला स्थलमा राखिने स्टलहरुको धमाधम बुकिङ भइरहेको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका महासचिव तथा प्रचारप्रसार समिति संयोजक रवीन्द्रबहादुर प्रजुले जानकारी दिए ।
‘हामीले स्टल बुकिङ खुल्ला गर्नुभन्दा अगाडिबाटै व्यवसायीहरुले स्टल राख्नको लागि चासो दिनुभयो’, उनले भने,‘ अब केही स्टलहरुमात्र बुकिङ हुन बाँकी रहेका छन्, तयारी कपडा लगायतका स्टलहरु त सबै बुकिङ भइसके ।’ मेलामा कुल ३०६ वटा स्टल रहेको उनले जानकारी दिए । ती स्टलहरुमा स्वदेशी उत्पादन, हस्तकला, सूचना प्रविधी, खाद्य सामाग्री, अटो, कृषि, लत्ताकपडा, डेरी उत्पादन, बेकरी, रेष्टुरेण्टहरु रहनेछन् । नेपालमा उत्पादित बस्तुहरुको छुट्टै ‘मेड इन नेपाल’ पेभेलियन महोत्सवको आकर्षण हुने महासचिव प्रजुले बताए । क्यान कास्कीले आयोजना गर्दै आएको क्यान इन्फो टेकको सातौँ संस्करण समेत यही मेलामा समाहित हुने तथा प्रदर्शनी केन्द्रमा रहेको सुविधा सम्पन्न डोममा इन्फोटेक आयोजना हुने उनले जनाए ।
‘लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने नाराका साथ आयोजना हुन लागेको मेला फागुन २१ गतेदेखि चैत १ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा आयोजना हुँदैछ । स्थानीय उत्पादनहरुको बजारिकरण गर्दै व्यवसायीहरुमा नयाँ सम्भावनाबारे जानकारी दिनु मेलाको मुल उदेश्य रहेको छ । मेला र महोत्सवको माध्यमबाट अर्थतन्त्र चलायमान बनाउन सकिन्छ भन्ने मान्यताबाट अभिप्रेरित भई संघले नेपालमै पहिलो पटक संगठित रुपमा मेला र महोत्सवको आयोजना गर्न थालेको हो । औद्योगिक व्यापार मेला २०४२ बाट सुरु भएको हो । बीचमा संघले विभिन्न मेलाको अलावा पोखरा महोत्सव २०५२ पनि सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।
पोखराकै सिको गर्दै अहिले देशैभर मेला र महोत्सवहरु आयोजना हुँदै आए पनि राष्ट्रिय औद्यागिक व्यापार मेलाप्रति प्रायोजक तथा स्टल राख्न चाहने व्यवसायीहरुको छुट्टै आकर्षण रहेको संघका कार्यबाहक अध्यक्ष देव क्षेत्रीले दावी गरे । उनका अनुसार यो पटकको मेलाको प्रायोजनको लागि समेत विभिन्न औद्योगिक घरानाहरुले विशेष चासो व्यक्त गरेका छन् । ‘राष्ट्र विषम परिस्थितिबाट गुज्रेकोबेलामा समेत प्रायोजकहरुले देखाउनुभएको चासोले हामी उत्साहित भएका छौँ’, उनले भने,‘हामी मेलालाई अविश्मरणीय बनाउन कुनै कसर बाँकी राख्दैनौँ ।’
उनका अनुसार मेला सम्पन्न गर्न गठित विभिन्न समितिहरुले समेत तयारीलाई तीब्र पारेका छन् । मेलाको थप आकर्षणतर्फ लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त व्याण्डहरुको सांगितिक कार्यक्रम, लोकनृत्य प्रतियोगिता, प्रवेश टिकटमा दैनिक रुपले पुरस्कारको व्यवस्था, उत्कृष्ट स्टललाई पुरस्कार, चमेना गृहको व्यवस्था, बाल उद्यान तथा साथमा स्थापित हाँस्यकलाकारहरुद्वारा मनोरञ्जनात्मक कार्यक्रमहरु समावेश गरिएको उनले जनाए । मेलालाई भव्य रुपले सम्पन्न गर्न संघका अध्यक्ष विन्दुकुमार थापाको अध्यक्षतामा २ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन भएको छ भने अध्यक्ष थापाकै अध्यक्षतामा कार्यसम्पादन समिति समेत गठन गरिएको छ । कार्यसम्पादन समितिमा संघका पदाधिकारी र कार्यसमिति सदस्यह सदस्यको रुपमा रहेका छन् भने पूर्व अध्यक्षहरुलाई सल्लाहकार मनोनयन गरिएको छ ।
मेला सम्पन्न गर्न विभिन्न २० वटा उपसमितिहरु गठन गरिएको थियो । मेलाको अतिथी व्यवस्थापन उपसमितिमा निवर्तमान अध्यक्ष संजिवबहादुर कोइराला, प्रायोजक व्यवस्थापनमा प्रथम उपाध्यक्ष देव क्षेत्री, मेला तथा स्टल व्यवस्थापन उपसमितिमा द्धितीय उपाध्यक्ष मीनराज काफ्ले, प्रचार प्रसार उपसमितिमा महासचिव रवीन्द्रबहादुर प्रजु,व्यानर व्यवस्थापनमा उपमहासचिव प्रकाशदेव पालिखे, अर्थ, खाना तथा खाजा व्यवस्थापन उपसमितिमा कोषाध्यक्ष दीलिपराज श्रेष्ठ रहेका छन् । यसैगरी मेलाको बाल उद्यान, स्वास्थ्य व्यवस्थापन, प्रकाशन तथा उपहार, हस्तकला तथा कृषि व्यवस्थापन उपसमितिमा क्रमशःकार्यसमिति सदस्यहरु दामु अधिकारी, ईश्वर कर्माचार्य, नारायण कोइराला, र हीरा भट्टराई रहेका छन् । उता सुरक्षा व्यवस्थापनमा कार्य समिति सदस्य सीता गुरुङ, साँस्कृतिक कार्यक्रम व्यवस्थापनमा कार्यसमिति सदस्य मोहनबाबु खड्का, स्टेज तथा मूलद्धार व्यवस्थापन उपसमितिमा कार्यसमिति सदस्य विश्वशंकर पालिखे रहेका छन् ।
यसैगरी मेलाको पार्किङ, टिकट व्यवस्थापन, विद्युत तथा टेलिफोन व्यवस्थापन, वातावरण तथा सरसफाई र खानेपानी, पर्यटन, यातायात र स्थानीय समन्वय व्यवस्थापन उपसमितिमा क्रमशः कार्यसमिति सदस्यहरु अर्जुन पोखरेल, अमितराज मुल्मी, विन्दु कोइराला सुवेदी, बलराम आचार्य, मदन केसी सुनिल गुरुङ र पवनकुमार प्रजापतिले जिम्मेवारी लिएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: