
फाल्गुन ३, २०७२- भारतलाई हराउँदै नेपालले २३ वर्षपछि साग फुटबलमा स्वर्ण जितेको छ । सोमबार भएको फाइनल खेलमा नेपालले भारतलाई उसकै घरेलु मैदानमा २-१ गोल अन्तरले पराजित गरेको हो ।
१२ औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलको फाइनलमा ६६ औं मिनेटमा प्रकाश बुढाथोकीले गोल गरेका थिए । नवयुग श्रेष्ठले अर्को गोल थपे ।यसअघि भारतले नेपालविरुद्ध पहिलो गोल गरेको थियो ।
इन्दिरा गान्धी रंगशालामा भएको खेलमा भारतका हरिचरण नर्जरीले ३५ औं मिनेटमा गोल गरेका थिए । नेपालले सेमिफाइनलमा माल्दिभ्सलाई हराएको थियो । यस्तै भारतले अर्को सेमिफाइनलमा बंगलादेशलाई पन्छाएको थियो ।
नेपालले दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलको फाइनलमा खेलेको यो पाँचौं अवसर हो । यसअघि नेपालले सन् १९८४ र १९९३ मा पुरुष फुटबलतर्फ स्वर्ण जितेको थियो । यस्तै १९८७ र १९९९ को फाइनलमा भने नेपाल पराजित रहेको थियो
नेपाली राष्ट्रिय टिमले तीन साताअघि ढाकामा बंगबन्धु गोल्डकपको उपाधि जितेको थियो । राष्ट्रिय टिमले २३ वर्षपछि जितेको उपाधि थियो त्यो । नेपालको तेस्रो उपाधि पनि हो । त्यसअघि नेपालले सन् १९८४ र १९९३ को दक्षिण एसियाली महासंघीय खेलकुद (साफ गेम्स) मा स्वर्णपदक जितेको थियो ।
छैटौं साफ गेम्स (ढाका) मा स्वर्ण जित्दाका कप्तान थिए, राजुकाजी शाक्य । अहिले उनी प्रशिक्षक छन् र उनले सम्हालेको नेपाली यू–२३ टिम नै १२ औं सागको स्वर्ण हो जितेको । उनको कप्तानीमा नेपालले २–२ को बराबरीपछि टाइब्रेकरमा भारतलाई हराएर २३ वर्षअघि स्वर्ण जितेको थियो ।
दशरथ रंगशालामा १९९९ मा भएको आठौं साफ गेम्समा स्वर्णका लागि भएको फाइनलमा नेपाल १–० ले बंगलादेशसँग हारेको थियो । त्यसबेलासम्म राष्ट्रिय टिम सहभागी हुन्थे । नवौं साफ गेम्स (२००४/इस्लामाबाद) देखि फुटबलमा यू–२३ टिमले प्रतिस्पर्धा गर्न थालेको हो । यसपालि फाइनल प्रवेशसँगै नेपालले कोलम्बो साग २००६ मा कांस्य हात पारेयता पुरुष फुटबलमा पहिलोपल्ट पदक पक्का गरेको हो ।
