
पर्वत, ५ फागुन-
नेपाली काँग्रेसको आसन्न १३ औ महाधिवेशन अन्तर्गत पर्वत जिल्लामा सम्पन्न अधिवेशनबाट सभापतिमा खिमप्रसाद भुषाल निर्वाचित हुनुभएको छ ।
भुषालले ३ सय ४४ मत प्राप्त गरी बिजयी हुनुभएको हो । प्रतिद्वन्द्धी खगेन्द्रप्रसाद तिवारीलाई १ सय ३७ मतले पछि पार्दै भुषाल बिजयी हुनुभएको हो । सभापतिका प्रत्यासी तिवारीले २ सय ७ मत प्राप्त गर्नुभएको छ ।
सभापति पदका लागि पहिलो चरण तीन जनाको उम्मेदवारी परेकाले दोस्रो पटक मतदान भएको हो । पहिलोपटकका सभापतिका उम्मेदवार बसन्तबहादुर सिकेले सवैभन्दा कम मत पाएर निर्वाचन प्रकृयाबाट बाहिरिनुभएको थियो । उहाँले ६१ मत प्राप्त गर्नुभएको थियो । शुरुमा कुनैपनि उम्मेदवारको ५१ प्रतिशत मत नआएपछि दोस्रो पटक मतदान भएको हो ।
भुषाल संस्थापन पक्षका उम्मेदवार हुनुहुन्छ भने तिवारी देउवा पक्षका उम्मेदवार मानिनुहुन्छ । यस अघि पहिलोचरणको मतदानबकाट सचिबमा देउवा पक्षका विश्वप्रकाश प्रसाई र कोषाध्यक्षमा संस्थापनका रामकृष्ण मल्ल बिजयी हुनुभएको थियो ।
दिउँसो झण्डै एक वजेदेखि शुरु भएको मतदान साँझ ५ बजे सकिएको थियो । दुवै निर्वाचन क्षेत्रका कुल मतदाता ५ सय ९८ जना मध्ये पाँच सय ५४ मत खसेको निर्वाचन अधिकृत कृष्णप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।
यता महासमिति सदस्यमा भने दुवै क्षेत्रमा सर्वसम्मत भएको छ । क्षेत्र नं. १ मा लालकाजी गूरुङ, बसन्तबहादुर सिके, भवानीशंकर पौडेल, डम्बरबहादुर विश्वकर्मा र मिना केसी तथा क्षेत्र नं. २ मा खगेन्द्रप्रसाद तिवारी, नबराज गुरुङ, ऋषिकेश तिवारी, गंगाधार तिवारी र राधाकुमारी कुँवर क्षेत्री महासमिति सदस्यमा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।
