
पोखरा ७ फागुन । भारतीय नाकावन्दीले इन्धन आयात ठप्प भएपछि सुस्ताएको ट्राफिक कारवाही र राजश्व असुलीमा केहि सुधार आएको छ । नाकाबन्दीपछि इन्धन नपाउदा घटेको सवारी पछिल्लो समयमा बढ्न थालेका छन् ।
चालु आर्थिक बर्षको एक महिनामा पाँच हजार भन्दा बढी सवारी कारबाहीबाट १६ लाख भन्दा बढी राजश्व संकलन गरेको कास्की प्रहरीले नाकाबन्दी सुरु भएपछि कार्तिक महिनामा जम्मा ३ सय ५० सवारी कारवाहीबाट एक लाख ४८ हजार रुपैया राजश्व संकलन गरेको छ ।
ट्राफिक प्रहरी कार्यालय कास्कीले गत साउन महिनामा ५१ सय सवारी कारवाहीबाट १६ लाख १६ हजार तथा भदौमा ४४ सय सवारी कारवाहीबाट १४ लाख २९ हजार रुपैया राजश्व संकलन गरेको थियो । नाकावन्दी सुरु भएको असोज महिनामा १९ सय सवारी कारवाही मार्फत ६ लाख ७९ हजार राजश्व असुलेको कास्कीमा कार्तिक महिनामा मात्रै तीन सय ५० सवारी कारवाहीमा परे । कार्तिकमा नाकावन्दीले ईन्धन आयत ठप्प भएपछि सडक सुनसान भएको थियो ।
नेपालीहरुको ठूला चाडहरु दशै र तिहारमा पनि एकाध सवारी सञ्चालनमा आए । सडकमा गुड्ने सवारीको संख्या घटेपछि ट्राफिकको सक्रियतामा पनि कमी आएको थियो । नाका नखुलेपनि बिभिन्न माध्यम र स्थानबाट इन्धन आउन थालेपछि मंसिरदेखि सवारी संख्यामा केहि बृद्धि भयो । जसको कारण सो महिना २४ सय सवारी कारवाहीबाट ८ लाख १२ हजार रुपैया राजश्व संकलन भयो ।
पुसमा ४३ सय सवारी कारवाहीबाट १५ लाख ३१ हजार रुपैया संकलन गरेको कास्की ट्राफिकले माघमा ४१ सय सवारी मार्फत १३ लाख २७ हजार राजश्व असुली गरेको छ । पछिल्लो सात महिनामा कास्कीमा सवारी कारवाही मार्फत ७५ लाख ४४ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
चालु आर्थिक बर्षमा वितेको सात महिनामा ४ सय ९० सवारी मापसे कारवाहीमा परेका छन् । जसबाट ४ लाख ९० हजार रुपैया राजश्व संकलन भएको छ ।
इन्धन अभावले सडकमा गुड्ने सवारी संख्यामा कमी आएकाले कार्तिक महिनामा ट्राफिक कारवाहीमा कमी आएको ट्राफिक प्रहरी निरिक्षक श्यामु अर्यालले जानकारी दिए । सवारी साधनको सिमितताको कारण एउटै सवारीमा क्षमता भन्दा बढी यात्रु चढाउदा पनि ट्राफिक प्रहरीले कारवाही गर्न सक्ने अबस्था थिएन । बाध्यात्मक परिस्थितिमा सावधानी अपनाएर सवारी चलाउन आग्रह गरेको ट्राफिक प्रहरीले सवारी साधन बढ्न थालेपछि भने कडाई गर्न सुरु गरेको छ ।
Source: Peacepokhara.com
