
रञ्जन अधिकारी पोखरा, १६ फागुन / आफ्ना मागप्रति सरकार गम्भीर नबने दक्षिणसँगै उत्तरतर्फका नाका समेत बन्द गर्ने मोर्चाका नेताहरुले चेतावनी दिईरहँदा उपप्रधानमन्त्री भीम रावलले अब नाकाबन्दी नहुने बताएका छन् । रक्षामन्त्री समेत रहेका रावलले अब भारतले फेरि नाकाबन्दी गर्ने कुनै आधार नभएको उल्लेख गरे ।
प्रेस चौतारी कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने– ‘अब मधेशी जनताले समेत लखेट्नेछन् । प्रधानमन्त्रीको भारत भ्रणम सफल भएको छ ।’ उनले भारतले फेरि नाकाबन्दी गर्ने भन्ने कुरा आधारहीन र कुर्तक भएको दाबी गरे । ‘यस्ता अनावश्यक टिकाटिप्पणी कसले गर्छ ? नाकाबन्दीको हल्ला चलाएर फाईदा कसले लिन्छ ?’ उनले सरकार विरोधी र कालाबजारीया गर्नेतर्फ संकेत गर्दै भने– ‘मुलुकका हित नचाहने, राष्ट्रिय एकता कमजोर बनाउन खोज्नेहरुबाट सजग हुनुपर्छ ।’
प्रधानमन्त्रीको भ्रमणकै लागि नाका खुलेको हल्लामा सत्यता नरहेको पनि उनले प्रष्ट पारे । राष्ट्रिय हित विपरित केहीले प्रधानमन्त्री ओलीको भारत भ्रमण बारे नकारात्मक टिप्पणी गरेको बताउँदै मुलुकमा अस्थीरता चाहनेले मात्र यस्तो बताएको उल्लेख गरे । प्रधानमन्त्रीको भारत भ्रमणको अन्त्यमा संयुक्त विज्ञप्ती जारी गर्नु ठुलो कुरा नभएको भन्दै संयुक्त पत्रकार सम्मेलनपछि यो आवश्यक नरहेको पनि बताए । ओलीको भारत भ्रमण सम्बन्ध सुधारको लागि मात्र भएको बताउँदै उपलब्धि मुलुक भएको जिकिर गरे । सम्बन्ध सुधारको साथै बंगलादेशसँग पारवहन सुविधा सहितका ६ बुँदे सहमति सकारात्मक पक्ष रहेको उनको भनाई छ ।
लामो समयदेखिको अभावले गर्दा इन्धन सहज हुन केहीदिन लाग्ने उनको भनाई थियो । ‘नेपाललाई आवश्यक इन्धन दिन भारत सरकार तयार रहेको भारतीय राजदुतले भनेको स्मरण गर्दै उनले आइओसी र भारतीय सरकारले इन्धन आपूर्तिमा अवरोध नगरेको जनाए । भारतले इन्धन नदिएको नभइ नेपालकै प्राविधिक कारण र बिदा लगायतका कारणले केही दिनयात आवश्यकता अनुसार इन्धन आपूर्ति नभएको रावलले जनाए ।
नेकपा एमालेका उपाध्यक्ष समेत रहेका रावलले प्रधानमन्त्री ओलीले केही समयमा नै चीनको भ्रमण गर्ने बताए । उनले भने, ‘भारतसँग जस्तै चीनसँग पनि नेपालले पारवहन सुविधा माग्नेछ, यसो गर्दा भारतसँग पौंठोजोरी खेलेको भन्न मिल्दैन ।’ उनले प्रधानमन्त्रीको चीन भ्रमणका बेला नाका खोल्ने, पारवहन सुविधा बारेमा छलफल हुने बताए ।
अर्को प्रसंगमा मन्त्री रावलले नयाँ संविधान कार्यान्वयनको लागि सबै राजनीतिक दलहरुबीच सहकार्य आवश्यक भएको बताए । मन्त्री रावलले सरकारले निकट भविष्यमै स्थानीय निकायको निर्वाचन गराउने तयारी थालेको समेत बताए । रावलले संविधान गतिशील दस्तावेज भएकोले समय अनुसार विधिसम्मत् ढंगले संशोधन हुने भएकोले असन्तुष्टिका नाममा आन्दोलन गर्नुको कुनै तुक नभएको बताए ।
‘जनताले मत नदिएकाहरुले आन्दोलनको नेतृत्व गरेर हुँदैन । उनीहरुले संविधान मान्दिन भन्नुको कुनै तुक छैन ।’ उनले भने । प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष राजाराम पौडेल र सञ्चालन सचिव अर्जुन गिरीले गरेका थिए ।
