
रञ्जन अधिकारी पोखरा, १६ फागुन / तलब लगायत सुविधा माग गर्दै मनिपाल शिक्षण अस्पतालको सेवा नै प्रभावित गरी आन्दोलनमा उत्रिएका कर्मचारीको मागप्रति व्यवस्थापन पक्ष लचिलो बनेको छ । तीन वर्षदेखि तलव वृद्धि नभएको र कर्मचारीको तह पनि नेपाल सरकारको स्वास्थ्य नियमावलीअनुसारै हुनुपर्ने भन्दै कर्मचारीहरु गत पुस २३ देखि सेवा नै प्रभावित हुने गरी आन्दोलनमा छन् ।
यो दुई महिनामा पोखरा उद्योग वाणिज्य संघ, श्रम कार्यालय पोखरा हुँदै श्रम विभाग काठमाण्डौंमा समेत मनिपाल अस्पतालको समस्या समाधानका लागि प्रयास भएको थियो । श्रम विभागका महानिर्देशकको अध्यक्षतामा गठन हुने तीन वटै ट्रेड युनियनका केन्द्रिय प्रतिनिधिहरु, उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरु रहेको उच्चस्तरीय श्रम सम्बन्ध समितिमा गत बुधबार र विहीबार भएको छलफलमा समेत मजदुरको भावना अनुरुप निर्णय नभएको कर्मचारीहरु बताउँछन् ।
मनिपाल कर्मचारी युनियन समन्वय समितिका सदस्य समेत रहेका अखिल नेपाल स्वास्थ्य श्रमिक संघका केन्द्रिय महासचिव शिव केसीका अनुसार अस्पताल व्यवस्थापन पक्ष पहिलोपटक माग कार्यान्वयन गर्न सहमत भएपछि मंगलबारदेखि नै अस्पतालका सम्पूर्ण सेवाहरु पुर्ववत् रुपमा सञ्चालन हुनेछ । काठमाण्डौमा समेत समस्या समाधान नभएपछि शुक्रबार साँझदेखि शनिबारसम्म अस्पताल व्यवस्थापनसँग छुट्टै छलफल भएको थियो । दुई पक्षबीच ‘जेन्टलमेन्ट एग्रिमेन्ट’ भएको र मंगलबार अन्तिम ड्राफ्ट तयार पारी कार्यान्वयनका लागि हस्ताक्षर भएपछि मात्र सबै आन्दोलनका कार्यक्रम अन्त्य भएको घोषणा गरिने केसीले जनाए ।
सहमति अनुसार श्रेणी अनुसारका कर्मचारीहरुको तलब वृद्धि गर्न व्यवस्थापन पक्ष तयार भएको छ । पहिलो र दोस्रो तहका कर्मचारीको मासिक तलब १९७०, तेस्रो र चौथो श्रेणीका कर्मचारीको हकमा २०७० र पाचौं र छैटौं तहका कर्मचारीको २१७० रुपैंया तलब खाईपाई आएको तलबमा थपिनेछ । यस्तै, एक वर्ष अघि नै सम्झौता भईसकेको पोशाक भत्तामा २०० वृद्धि गर्ने सहमति कार्यान्वयन गरिनेछ । कर्मचारी बढुवा नीति र नियमावली मार्च अन्त्य भित्र दुवै पक्षको सहमतिमा निर्माण गरी श्रम कार्यालयमा दर्ता गर्न सहमति जनाएका छन् । तलब समायोजन, छुटेका तहहरुलाई समायोजन पनि हुनेछ ।
एमबीबीएस भर्नामा कर्मचारीका छोराछोरीमध्ये एक जनालाई ५० प्रतिशत छुटमा अध्ययन गरिदैं आएकोमा अर्को एकजनालाई शतप्रतिशत शुल्क लिएर एउटा आरक्षण सिट छुट्याईने मागमा व्यवस्थापन पक्ष सहमत पनि भएको छ । बिदाको हकमा वर्षभर ६० दिन बिदा सञ्चित हुने गरेकोमा अब त्यो भन्दा बढि बिदा सञ्चित भएको खण्डमा आर्थिक वर्षको अन्त्यमा तोकिए बमोजिमको तलब कर्मचारीले पाउनेछन् । समन्वय समितिका सदस्य केसीले भद्र सहमति अनुसार सहमतिपत्रमा हस्ताक्षर गर्न आनकानी गरे वा सहमति पछि पनि कार्यान्वयनतर्फ गम्भीर नबने आन्दोलन नरोकिने चेतावनी दिए ।
यससम्बन्धमा दुई वर्ष अघि नै सम्झौता भएको तर मनिपाल व्यवस्थापन पक्ष कार्यान्वयनमा उदासिन भएकाले सेवाग्राहीलाई नै समस्या पर्ने गरी आन्दोलन गर्न बाध्य भएको आन्दोलनरत कर्मचारीहरु बताउँछन् । २०७२ असार ७ गते मागपत्र बुझाएपछि ६ महिना शान्तिपुवर्क वार्तामा प्रयास भएको र मनिपाल व्यवस्थापनले बेवास्ता गरेपछि पेनडाउन, कालोपट्टि हुँदै सेवा बन्द गर्नुपर्ने अवस्थामा पुगेको केसीले जनाए । अस्पतालमा विगत डेढ महिनादेखि नै बिहान साढे आठबजेदेखि दिउँसो १ बजेसम्मका सबै ओपिड सेवा बन्द भएका थिए । एम्बुलेन्स बाहेकका सबै यातायात साधन बन्द गरिएको थियो भने ३ सयभन्दा बढी विद्यार्थी रहेको मनिपाल कलेज अफ साइन्सेजमा पढाइ रोकिएको थियो । यसबाट सेवाग्राही तथा विद्यार्थी मर्कामा परेका छन् ।
अखिल नेपाल स्वास्थ्य श्रमिक संघ मनिपाल एकाई र मनिपाल स्वतन्त्र कर्मचारी युनियन अस्पताल एकाई दुवै संगठनले माग पुरा गर्न कर्मचारी युनियन समन्वय समिति गठन गरी आन्दोलनमा उत्रिएका हुन् । सरकारले यो २ वर्षमा २८ प्रतिशत तलब बढाइसक्दा पनि आफुहरुको नबढेपछि आन्दोलनमा उत्रनुपरेको उनीहरुको भनाई छ । यस्तै, तलबसँगै मेडिकेयर र ग्रेड लगायत सररसफाइ मजदुरका लागि आवश्यक उपकरण पनि नदिएका उनीहरुको गुनासो छ । आन्दोलनमा गैरशिक्षण कर्मचारीमात्रै साढे ६ सय सहभागी छन् ।
