सञ्चारिकाको तीन दिने फिचर लेखन तालिम सकियो

368
0
Share:

रञ्जन अधिकारी पोखरा, १७ फागुन / आयोजनामा यस क्षेत्रका पत्रकार महिलाको क्षमता अभिवृद्धिका लागि सञ्चालित तीन दिने फिचर लेखन तालिम सोमबार सकिएको छ । जिल्ला विकास समिति, कास्की र पोखरा उपमहानगरपालिका कार्यालयको सहयोगमा भएको तालिममा पश्चिमाञ्चलका विभिन्न जिल्लाका दुई दर्जन पत्रकारको सहभागिता रहेको थियो ।

तालिममा वरिष्ठ पत्रकार मोहन मैनाली, कान्तिपुर दैनिकका पश्चिमाञ्चल ब्युरो प्रमुख भीमप्रसाद घिमिरे, नागरिक दैनिकका ब्युरो प्रमुख केशवशरण लामिछाने, द हिमालयन टाईम्सका ब्युरो प्रमुख भरत कोईरालाले फिचर लेखन सम्बन्धी प्रशिक्षण दिएका थिए । कास्कीका निमित्त स्थानीय विकास अधिकारी ई. नारायणप्रसाद श्रेष्ठ, पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारी र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी गजुसिद्धि बज्राचार्यले आ–आफ्ना कार्यालयबारे जानकारी गराएका थिए । स्थानीय निकाय र प्रहरी प्रशासन पत्रकारको लागि सुचना संकलनको मुख्य श्रोत पनि हुन् ।

तालिम समापन कार्यक्रमका प्रमुख अतिथि ई. श्रेष्ठले पत्रकारहरुले गहिरो अध्ययन गर्नुपर्ने, विषयवस्तु बुझेर मात्रै समाचार लेख्नुपर्ने, पत्रकार संहिताको ख्याल गर्न र सामाजिक उत्तरदायित्व बहन गर्न सुझाव दिए । सञ्चारिका समूह नेपालका पूर्व अध्यक्ष बबिता बस्नेतले पत्रकारका चुनौति र समस्यामा मात्र अल्झेर अवसर खेर नफाल्न आग्रह गरिन् । उनले महिलाहरु दयाका पात्र होईनन्े भन्ने भावनाका साथ काम गर्न सुझाव समेत दिईन् ।

वरिष्ठ पत्रकार मोहन मैनालीले पत्रकारले आफ्नो दक्षता अभिवृद्धिका लागि अध्ययन जरुरी रहेको भन्दै सक्रिय भएर अघि बढ्न आग्रह गरे । पत्रकार महासंघका केन्द्रिय सदस्य सुष्मा पौडेल, बानका केन्द्रिय उपाध्यक्ष रमेश पौडेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सके मात्र तालिम उपयोगी हुने बताउँदै महिलाहरुले पत्रकारिता पेशालाई निरन्तरता दिन जोड दिए । प्रशिक्षार्थीका तर्फबाट बोल्दै क्रियाशील महिला पत्रकार समुहकी अध्यक्ष सरिता तिमिल्सिना पंगेनी तालिम फलदायी हुने विश्वास लिईन् ।

सञ्चारिका समूह पश्चिमाञ्चलका अध्यक्ष जमुना वर्षा शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सावित्री गौतमले गरेकी थिईन् ।

कमेन्ट गर्नुहोस्
Share: