
रञ्जन अधिकारी पोखरा, १७ फागुन / पोखरामा पहिलो पटक आयोजना भएकोे विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगिता २०१६ मा नेपाल च्याम्पियन बनेको छ । कोरिया बाहिर नेपालमा पहिलोपटक पोखरामा तीन दिनसम्म आयोजना भएको एशियाली मुलुक सहभागी उक्त प्रतियोगितामा भारत दोस्रो र मलेसिया तेस्रो बन्यो । बंगलादेश र भुटान क्रमशः चौथो र पाँचौ बन्यो ।
नेपालले १४ स्वर्ण सहित ७१ पदक हात पार्दै च्याम्पियन बन्न सफल भएको हो । पोखराको प्रर्दशनी केन्द्रमा सञ्चालित प्रतियोगितामा नेपालका खेलाडीहरुले २० रजत र ३७ काँस्य पदक जिते । छ स्वर्ण, सात रजत र आठ कास्य पदकका साथ भारत भने दोश्रो भएको छ। यस्तै, मलेसियाले तीन स्वर्ण, एक रजत र एक कास्य गरी पाँच पदक जित्न सफल भएको हो ।
बंगलादेशले तीन स्वर्ण र दुई कास्य पदक गरी पाँच पदक जित्दै चौथो स्थानमा रहयो भने भुटानले दुई मात्र कास्य पदक जितेको छ । प्रतियोगितामा नेपाल सहित ५ देशका करीब ७ सय ३० जना खेलाडीहरु सहभागि भएको कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष एवं हान्मादाङ सचिवालय सचिव जगन गुरुङले बताए ।
कोरियामा हरेक वर्ष आयोजना हुँदै आएको उक्त प्रतियोगिता पहिलो पटक पोखरामा आयोजना गर्न पाएकोमा आफुहरुले भव्यताका साथ सम्पन्न गराउन सफल भएको सचिव गुरुङले दाबी गरे । उनले यस प्रतियोगिता सम्पन्न गराउन सहयोग गर्ने सम्पुर्ण व्यक्ति तथा संस्थाहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी वर्ष पनि यस्ता अन्तराष्ट्रिय स्तरका प्रतियोगिताहरु सम्पन्न गराउन साथ र सहयोगको अपेक्षा गरे ।
विजयी खेलाडीहरुलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्सेर राणा, सदस्य मदन केसी, सल्लाहकार रत्नमान गुरुङ, हान्मादाङ सचिवालय सचिव जगन गुरुङ, प्रचार संयोजक तेजबहादुर गुरुङ, क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम बहादुर गुरुङ, नेपाल बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष जुमप्रसाद गुरुङ, खेलकुद पत्रकार मञ्च कास्कीका कार्यवाहक अध्यक्ष सन्देश श्रेष्ठ, सचिव दिननाथ बराल, खेल पत्रकार नारायण शाई, तुल्सी सुवेदी, परशुराम शर्मा, फोटो पत्रकार उमेश पुन लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा ८ देखि ५९ बर्ष उमेर समुहका खेलाडीहरु सहभागी भएका थिए ।
