
फागुन २१-
नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि ६४ पदमा ३७५ जनाको मनोनयन परेको छ। शुक्रबार दर्ता गराउनेमा सभापति र महामन्त्रीमा ३/३ जना तथा कोषाध्यक्षमा कृष्ण कार्कीसहित ४ जनाको मनोनयन परेको छ। यस्तै ६ सिटको महिलाका लागि ४० जना खुला २५का लागि ९४ जनाले मनोनयन दर्ता गरेका छन्। जसमा सुजाता कोइराला र महालक्ष्मी (डिना) उपाध्याय पनि छन्।
यस्तै ३ सिटको जनजाति पुरूषका लागि ५० जनाले मनोनयन दर्ता गरेका छन् भने २ सिट महिलाका लागि १४ जनाले दर्ता गराए। ३ सिट रहेको दलित पुरूषमा २१ मनोनयन परेको छ भने २ सिट महिलाका लागि ६ जनाले मनोनयन दर्ता गरेका छन्।
यस्तै मधेसी ३ पुरूषका लागि १८ र २ महिलाका लागि १० जनाको मनोनयन परेको छ। मुस्लिम १ जनाको सिटमा १० जनाले मनोनयन दर्ता गराएका छन्। १४ जना प्रदेशका लागि १०२ जनाले मनोनयन दर्ता गराएका छन्।
निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीका अनुसार आज २ बजे उम्मेद्वारहरूको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ। यस्तै नामावली संशोधन दाबी विरोध साँझ ५ बजेसम्म राखिएको छ र अन्तिम नामावली बेलुका ७ बजे प्रकाशन गर्ने अधिकारीले बताए।
फिर्ता लिन चाहनेका लागि भोलि बिहान ९ बजेदेखि ११ बजेसम्म समय छुट्टाइएको छ।
अन्तिम नामावली पुनः प्रकाशन भएपछि पर्सी बिहान ८ बजेदेखि ४ बजेसम्म राष्ट्रिय सभागृहमा मतदान हुने कार्यक्रम छ।
मतदान सकिएलगत्तै सभापतिको मत गणना सुरू हुन्छ। पहिलो राउण्डमै कुनै उम्मेद्वारले ५१ प्रतिशत मत ल्याएमा अरूको गणना सुरू हुन्छ। त्यसपछि अरू पदको मत गणना हुने कार्यक्रम रहेको छ।
कसैले पहिलो राउण्डमा ५१ प्रतिशत नल्याए २४ गते बिहान पार्टी कार्यालयमा दोस्रो चरणको मतदान हुने कार्यक्रम छ।
