
बारा, २१ फागुन-
बारामा जारी सिमरा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत् शुक्रबार भएको खेलमा सहारा क्लबलाई पराजित गर्दै वीरगन्ज युनाइटेड क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
वीरगन्जले पोखराको सहारा क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।
निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमै सकिएपछि ३० मिनेटको अतिरिक्त समय थप गरियो ।
अतिरिक्त समयमा पनि दुबै टोलीबाट कुनै गोल नभएपछि नतिजाका लागि खेल पेनाल्टी सुटआउटसम्म पुगेको हो ।
वीरगन्ज युनाइटेडका पाँचै खेलाडीले पेनाल्टीमा गोल गर्दा साहाराका कृष्ण शाक्यले बललाई जाली चुमाउन सकेनन् र खेल ५–४ ले वीरगन्जले जित्यो ।
यसअघि, निर्धारित ९० मिनेटको खेलमा १३औं मिनेटमा नै गोल गर्दै चतुर्धन चौधरीले साहारा क्लबलाई अग्रता दिलाएका थिए । तर, ७६औं मिनेटमा कर्ण लिम्बुले गोल गर्दै वीरगन्जलाई खेलमा फर्काए ।
विहीबार भएको उद्घाटन खेलमा आयोजक नव जनजागृति युवा क्लबलाई पराजित गर्दै हेटौंडाको विजय युथ क्लबले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
