
पोखरा, १ चैत-
पोखराको नयाँबजारमा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७२ सोमबारदेखि सकिएको छ ।
‘लगानीको सम्वद्र्धन: उद्योग व्यवसायको प्रवद्र्धन ’ भन्ने नाराका साथ फागुन २१ गतेबाट सुरु भएको मेलाको करीब १ लाख ५० हजार दर्शकले अवलोकन गरेका छन् भने ५ करोडभन्दा बढीको आर्थिक कारोबार भएको छ ।
आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले प्रतिकुल मौषमका वाबजुद पनि मेला सफल भएको दावी गरे ।
मेला समापन कार्यक्रमका प्रमुख अतिथी पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक शंकरप्रसाद कोइरालाले क्रेता र बिक्रेतालाई एउटै थलोमा उभ्याउन तथा आर्थिक गतिविधी चलायनमान बनाउन मेला सफल भएको बताए । मेला र महोत्सवहरुमा सोही क्षेत्रको उत्पादनहरुलाई केन्द्रमा राखेर गतिविधी बढाउनुपर्नेमा उनको जोड थियो । उनले सार्क परराष्ट्रमन्त्रीस्तरीय सम्मेलन हुँदै गर्दा सबै क्षेत्रबाट मिलेको सहयोगको खुलेर प्रशंसा गरे ।
कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले सबैको सहयोगले मेला सफल भएको बताउँदै यो मेला पोखराको गौरवको रुपमा परिणत भएको धारणा राखे ।
शिक्षासेवी तथा कार्यक्रममा सम्मानित व्यक्तित्व जर्ज जोनले पोखरा उद्योग वाणिज्य संघले आफ्नो स्थापनाकालदेखि नै शिक्षा क्षेत्रमा लगानी गर्दै आएको स्मरण गरे ।
यसैबीच, पोखरामा जारी औद्योगिक व्यापार मेलाको अन्तिम दिन आजपनि बिग एफएमको स्टलमा ७ हजारभन्दा बढीले श्रोता सर्वेक्षण फाराम भरेका छन् ।
मेलामा राखिएको स्टलमा मेलाको सुरु दिनदेखि नै श्रोताहरुले एफएमका न्यूज तथा कार्यक्रमका बारेमा फाराममार्फत् प्रतिक्रिया दिइरहेका थिए ।
यसपटकको व्यापार मेलास्थलमै सूचना प्रविधि मेला समेत आयोजना गरिएकाले पनि पश्चिमाञ्चलकै नम्बर वान एफएम विग एफएमको स्टलप्रति युवापुस्ता तथा विद्यार्थीहरुले चासो दिएर अवलोकन गरे ।
एफएम र एफएमले संचालन गर्दै आएका न्यूज, कार्यक्रमसँगै प्रस्तोताहरुसँग प्रत्यक्ष कुराकानीको अवसर समेत पाएपछि स्रोताहरु उत्साहित बनेका थिए ।
श्रोता सर्वेक्षण फाराम भर्दै अधिकांश स्रोताले एफएमले युवापुस्ताको मन जितेको प्रतिक्रिया दिएका थिए । बिग एफएमले राम्रो समाचार, कार्यक्रम र ईभेन्टहरु गर्दै आएको कुराको प्रशंसा गर्दै उनीहरुले यसलाई निरन्तरता दिन एफएमलाई अनुरोध गरेका थिए ।
विग एफएमले मेलामा बर्षेनी स्टल राख्दै आएको छ ।
