
पोखरा, २ चैत-
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० को ३७ औँ मन्त्रिपरिषद् बैठकको पूर्वसन्ध्यामा सोमबारदेखि पोखरामा जारी कार्यक्रम समितिको ५२ औँ बैठक बुधबार हुने स्थायी समितिको बैठकमा प्रस्तुत हुने प्रतिवेदन अनुमोदन गर्दै सकिएको छ ।
आठ वटै सदस्य मुलुकका परराष्ट्र/बाह्य मामिला मन्त्रालयमा सार्क विभाग प्रमुख सम्मिलित उक्त बैठकमा दक्षिण एसियाली विश्वविद्यालय, सार्क विकास कोष, सार्क मध्यस्थता परिषद्लगायत सार्कका विशिष्टिकृत निकायबारे छलफल भयो ।
कृषिसँग सम्बन्धित विविध विषयका साथै बीउबिजन बैंक, पशु चिकित्सा र परियोनमा आधारित सहयोगबारे कार्यक्रम समितिमा छलफल भएको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष एवम् परराष्ट्र मन्त्रालयको क्षेत्रीय सङ्गठन विभाग प्रमुख मणिप्रसाद भट्टराईले जानकारी दिए ।
आतङ्कवाद, लागू औषध, सूचना तथा सञ्चार, सार्कका क्षेत्रीय निकायहरूको प्रशासनिक एवम् वित्तीय व्यवस्थापन, सन् २०१६ का लागि सार्क ऊर्जा केन्द्रका गतिविधि, सदस्य मुलुकमा क्षेत्रगत सहयोग प्रवद्र्धन गर्न क्षेत्रीय योजना परिषद् स्थापना र सार्कका कार्यक्रम र समयसारिणीको समीक्षा बैठकमा भएको उनले बताए ।
बैठकले दक्षिण एसियाली विश्वविद्यालयलाई स्नातक तहमुनिका यथासंभव शीघ्र सञ्चालन गर्न र त्यसमा विद्यार्थी र अध्यापकको क्षेत्रीय एवम् प्रतिनिधित्व सुनिश्चित गर्ने विश्वविद्यालयलाई निर्देशन दिएको जानकारी दिँदै उनले त्यससम्बन्धी सिफारिस बुधबार हुने परराष्ट्र÷बाह्य मामिला मन्त्रालयका सचिवहरु सम्मिलित स्थायी समिति बैठकमा गरिएको बताए ।
सार्क योजना परिषद्का बारेमा कार्यक्रम समितिको अर्को बैठकमा छलफल गर्ने निर्णय भएको सहसचिव भट्टराईले बताए ।
बुधबार हुने स्थायी समितिको ४२ औँ बैठकमा भाग लिन सदस्य राष्ट्रका परराष्ट्र र बाह्य मामिला मन्त्रालयका सचिव मंगलबार अपराह्न पोखरा आइपुगेका छन् ।
