प्रधानमन्त्रीद्वारा चीन भ्रमणबारे जानकारी

Share:

काठमाडौँ, ५ चैत-
प्रधानमन्त्री केपी शर्मा ओलीले हामी भारत र चीनसंग सन्तुलित सम्बन्ध राख्न चाहन्छौं र दुवै ठूला छिमेकीबाट लाभान्वित हुन चाहन्छौँ तर कुनै राष्ट्र् विरुध्द अर्को राष्ट्र्रलाई कार्डको रुपमा प्रयोग गर्न नचाहने बताएका छन् ।
प्रधानमन्त्री ओलीले व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको वैठकलाई फागुन ७ गतेदेखि हुने आफ्नो चीन भ्रमणबारे जानकारी दिँदै भारत भ्रमणपछि हुन लागेको मित्रराष्ट्र्र चीनको भ्रमणबाट नेपाल—चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने र नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध अझ मजबुत हुने बताए ।
ओलीले मागेर विकास हुने होइन भन्दै उत्पादनहरु निर्यात गर्नु र पूर्वाधारको विकास गर्नुमा नै देशहित आधारित हुने प्रष्ट पारे ।
उनले चीन भ्रमणक्रममा चीनका राष्ट्रप्रति, प्रधानमन्त्री तथा चिनियाँ जनकाग्रेसका प्रमूख, चीनको व्यापारिक समुदायलगायतसंग भेटबार्ता हुने पनि जानकारी दिए । उनले आफूले बोआओ सम्मेलनमा भाग लिने पनि जानकारी दिए ।
आफू सम्पूर्ण नेपाली जनताको प्रतिनिधी भएको तथा आफूबाट देशलाई हानी हुनेकुरामा कुनै सम्झौता नहुने कुरामा आश्वस्त पार्दै प्रधानमन्त्रीले यस भ्रमणबाट राजनीतिक, आर्थिक तथा अन्तर्राष्ट्र्यि सम्बन्धका दृष्टिले नेपाल नयाँ चरणमा प्रवेश गर्ने पनि बताए ।
उनले भ्रमणक्रममा रसुवागढी नाकाको विकास गर्ने, तातोपानी नाका सुचारु गर्ने, किमाथांका नाकासम्म सडक दुई लेनको र सवै मौसममा चालु गर्न सकिनेगरी विकास गरिने, सीमापार प्रसारण लाइन विस्तार गर्ने, रसुवागढी—काठमाडौ तथा काठमाडौबाट पोखरा तथा लुम्विनीसम्म पनि रेलमार्ग निर्माण, माथिल्लो अरुण ४३४ मेवा निर्माण, पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, चक्रपथको दोश्रो चरणको काम, मोनोपोल निर्माण आदि कुरालाई उठाइने र केहीमा सम्झौता हुनका साथै केहीमा अध्ययनका लागि समझदारी हुनसक्ने बताए ।
ओलीले नेपाल—चीनबीच पारबहन तथा व्यापारको स्वरुपबारे अध्ययन गरेर सम्झौतामा पुग्नेगरी समझदारी हुने पनि सो अवसरमा जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: