
पोखरा ५ चैत्र-
उपराष्ट्रपति नन्दवहादुर पुनले नेपालकै ठूलो बंगुर फार्म पोखरा लाइभस्टक प्रा. लि.को अवलोकन गरेका छन । राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कार २०७२ बाट सम्मानित कास्कीको लेखनाथ नगरपालिका २ रिठेपानीमा रहेको बंगुर फार्मको उपराष्ट्रपति पुनले अवलोकन गरेका हुन । पोखराको रंगशालामा शुक्रबारदेखि शुरु भएको दोश्रो राष्ट्रिय पोर्क महोत्सवको उद्घाटनमा आएका उपराष्ट्रपति पुन नेपालकै एकमात्र ठूलो अत्याधुनिक बंगुरफार्मको अवलोकनका लागी लेखनाथ पुगेका थिए ।
बैदेशिक रोजगारमा कोरियामा सिकेको सीपलाई सदुपयोग गर्दै छ्याम बहादुर थापाले सञ्चालनमा ल्याएको फार्मको अवलोकन पश्चात उपराष्ट्रपति पुनले जांगर र सीप हुने हो भने नेपालमै बसेर कृषि क्षेत्रमा छलाङ मार्न सक्ने वताए । अति अत्याधुनिक किसिमले बंगुर पालन गरेको थापाको सिको गर्न सकेमा आत्मनिर्भर बन्ने र खाडी मुलुकमा धाउन नपर्ने उनको तर्क रहेको थियो । १३ रोपनी क्षेत्रफलमा फैलिएको फार्ममा विभिन्न ब्लकहरु रहेका छन । उपराष्ट्रपति पुनले सम्पूर्ण ब्लकको अवलोकन गरेका थिए ।
उपराष्ट्रपति समक्ष फर्म हाउसका सञ्चालक छ्याम थापाले कृषकहरुलाई सरकारले सहुलियत दरमा ऋण दिन नसक्नु नै दुखद पक्ष रहेको वताए । पटक पटक मन्त्रालयमा आफुले आग्रह गरेको भएतापनि कोही कसैले सुनुवाइ गर्न नसक्दा कतिपय कृषकहरु किसान पेशानै छाडेर खाडी मुलुक जानुपर्ने बाध्यता बनेको भन्दै थापाले उपराष्ट्रपतिलाई ध्यानाकर्षण गराएका थिए ।
