कृषि तथा पशुपालनलाई उद्योगका रुपमा विकास गर्नुपर्छः उपराष्ट्रपति पुन

Share:

रञ्जन अधिकारी पोखरा, ५ चैत / उपराष्ट्रपति नन्द बहादुर पुनले कृषि र पशुपालन क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताएका छन् । ‘नेपालको समृद्धि तथा विकासका लागि मुख्य आर्थिक आधार भनेको पर्यटन, कृषि, जडिबुटी, उद्योग हुन् ।’ उनले भने– ‘नेपाल कृषिप्रधान देश भएकाले पनि कृषि र पशुपालनलाई उद्योगको रुपमा विकास गर्नुपर्छ ।’

पोखरा रंगशालामा शुक्रबारदेखि सुरु भएको दोस्रो राष्ट्रिय पोर्क महोत्सवको उद्घाटन पछि लिखित सम्बोधन गर्दै उनले कृषिजन्य उद्योग व्यवसायको विकासबाट नै आर्थिक क्रान्ति सम्भव रहेको बताए । पुनले देशमा उपयुक्त व्यवसायिक वातावरणको निर्माणमा सम्बन्धित सबैको ध्यानाकर्षण पनि गराए । युवाहरु कृषि पेशामा लालायित भइरहेको सन्दर्भमा सरकारले युवाहरुलाई लक्षित गरेर काम अगाडी वढाईहेको भएतापनि सहुलियत दरमा कर्जा प्रवाह गरी कृषि तथा पशुपालनलाई प्राथमिकता दिनुपर्ने पुनको भनाइ रहेको थियो । पशुपालन सम्बन्धी व्यवसायमा बंगुरपालन निकै ठुलो बोकेको व्यवसाय भएको उनले बताए ।

पशुपंक्षी विकास मन्त्री शान्ता मानवीले पशुपालक किसानको लागि उचित अनुदान सहित सरकारी राहत प्रदान गर्न सरकार तयार रहेको बताईन् । उनले उन्नत नश्ल, आहार, रोग नियन्त्रण, बजारीकरण, कृषकहरुलाई सस्तो र सुलभ व्याजदरमा ऋण उपलब्ध गराउन तयार रहेको पनि बताईन् । मन्त्री मानवीले गोठदेखि बधशालासम्म स्वच्छ र स्वस्थ मासु अभियानमा सरकार लागेको जनाउँदै दुई वर्षभित्र मुलुकलाई मासुमा आत्मनिर्भर बनाउने योजनाका साथ अघि बढेको बताईन् ।

सांसद तथा संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीले वार्षिक १९ करोडको बंगुरको मासु बाहिरबाट आयात गर्नुपर्ने अवस्था रहेको जनाउँदै यहाँका बंगुरको मासु तारे होटलले किन लिन मान्दैनन् यस विषयमा गम्भीर बन्नुपर्ने बताए । उनले कृषकलाई ६ प्रतिशत व्याजदरमा अनुदान दिने गरी १० अर्ब बजेट छुट्टाईएकोमा १० करोडमात्र खर्च हुने सकेको भन्दै कृषकले ऋण लिनै नसक्ने गरी बनेका नीति परिमार्जन गर्न मन्त्रीको ध्यानाकर्षण गराए ।

सांसद शारदा पौडेलले खाडीमुलुक जान बाध्य युवाहरु यस्तो व्यवसायमा लाग्ने हो भने मुलुकले विकासमा फड्को मार्ने बताउँदै बजारीकरणमा पनि ध्यान दिनुपर्नेमा जोड दिईन् । पुर्व सभासद् कृष्णबहादुर गुरुङले जातका आधारमा पेशा व्यवसाय गर्ने कारण नै व्यवसायीकरण हुन नसकेको बताए । आयोजक बंगुर व्यवसायी संघ कास्कीका अध्यक्ष छ्याम थापाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय अध्यक्ष उमेशकुमार राई, सामथ्र्य नेपालका डा. नन्दप्रसाद श्रेष्ठ लगायतले बोलेका थिए ।

उक्त अवसरमा राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कार २०७२ बाट सम्मानित कास्कीको रिठेपानीमा रहेको नेपालकै एकमात्र ठूलो बंगुर फार्म पोखरा लाइभस्टक प्रा.लि.को चिनारी रहेको बृत्तचित्र पौरखी पाइलाको अतिथिहरुले संयुक्त रुपमा विमोचन समेत गरेका थिए ।

चैत्र ७ गते सम्म सञ्चालन हुने महोत्सवमा बंगुरको मासुबाट बन्ने विभिन्न परिकारहरु बंगुरको मःमः, चाउमिन, सेकुवा, ससेज, अचार विभिन्न विदेशी परिकारहरु चाइनिज र कोरियन परिकारहरुको स्वाद महोत्सवमा आउने दर्शकहरुले लिन पाउनेछन भने महोत्सवको प्रवेश टिकटमा दर्शकहरुले टिकट बरावरको कुनैपनि पोर्क आइटमको स्वाद लिन पाउने छन् ।

महोत्सवमा विशेष गरी बंगुर उत्पादनका लागि ब्रिडर फार्म, उपकरण, दाना, औषधि, वित्तिय संस्थाको बारे जानकारी तथा प्राविधिक परामर्श, बंगुरको बधशाला तथा प्रशोधनका वारेमा जानकारीमुलक स्टलहरु, पोर्कका विभिन्न परिकारका स्टलहरु, सेफद्वारा परिकारहरुको तयारीको प्रदर्शन, बंगुर उत्पादन देखि बजारी करणमा प्रयोग हुने विभिन्न औजारहरुको प्रदर्शनी तथा बिक्री, बंगुरको मासुको प्रशोधन तथा परिकार बनाउने सम्बन्धी तालिम, बंगुरपालक किसानहरु बीच अन्तरक्रिया, मासु उत्पादनमा प्रयोग हुने औजारहरुको प्रदर्शनी तथा बिक्री, बंगुरको दाना सम्बन्धी जानकारी, बंगुरपालनमा देखिएका संभावना तथा चुनौतीहरुको बारेमा परामर्श तथा छलफल, ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानिय स्तरका कलाकारहरुद्धारा लोक तथा दोहोरी गीत, नृत्य, संगित, कन्सर्ट तथा विभिन्न प्रतियोगिताहरु हुनेछन ।

त्यस बाहेक महोत्सवले बंगुरपालन क्षेत्र तथा बंगुरजन्य व्यवसायको प्रबद्र्धन र विकास गर्ने, लिन पोर्कको बजारीकरणलाई प्रोत्साहन गर्ने, उपभोक्तालाई स्वच्छ तथा स्वस्थ्य वंगुरको मासु उपलब्ध गराउनको लागि बंगुर काट्न अघि र काटि सकेपछि पशु चिकित्सकद्धारा निरिक्षण गर्ने परिपाटिको बिकास गर्ने, बंगुर उत्पादनका लागि आहाराको विकास, गोठ सुधार तथा यान्त्रीकरणका लागि प्रोत्साहन गर्न, पोर्कका विभिन्न परिकारहरु रेष्टुरेन्ट तथा होटेलहरुमा समावेस गर्न प्रोत्साहन गर्नका लागी महोत्सवले उल्लेख्य भुमिका खेल्ने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: