
रञ्जन अधिकारी पोखरा, ६ चैत / भारतमा सम्पन्न भएको १२ औं दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता खेलाडीलाई पोखरामा नगर परिक्रमासहित सम्मान गरिएको छ । सहारा क्लब पोखराको अगुवाईमा शनिबार विजय ¥याली सहित जनही १० हजार रुपैंया सहित खोडी तथा प्रशिक्षकलाई सम्मान गरिएको हो ।
१२ औं सागमा पुरुष फुटबल टीम, नेपालकी उसु खेलाडी निमा घर्तीमगर र जुडोकी फूपू ल्ह्यामु खत्रीले स्वर्ण पदक जितेका थिए । गत फागुन माघ २२ गतेदेखी फागुन ४ गतेसम्म आयोजित सागमा नेपालले ३ स्वर्ण जितेको थियो । सम्मान कार्यक्रममा फुटबलका प्रशिक्षक राजुकाजी शाक्यसहित १८ जना र घर्ती मगर सहभागी भएका थिए । फुटबलका ५ खेलाडी तथा जुडोकी खत्री हाल विदेश भएकोले सम्मान कार्यक्रममा सहभागी भएनन् । उनीहरु सबैलाई सम्मानपत्र र नगद पछि प्रदान गरिने आयोजकले जनाएको छ । फुटबल खेलाडीहरु नवयुग श्रेष्ठ, विक्रम लामा, जगजित श्रेष्ठ, अनन्त तामाङ र अन्जन विष्ट नआएका हुन् । नवयुग सामसुङको कार्यक्रममा, जगजितका बाबु विरामी भएकोे र विक्रम ईण्डोनेसियामा तथा विष्ट र तामाङ नेदरल्याण्डमा भएकाले कार्यक्रममा सहभागी नभएको प्रशिक्षक राजुकाजी शाक्यले जनाए ।
पोखराका विभिन्न संघसंस्थाको सहभागितामा चिप्लेढुंगाबाट खेलाडीहरुलाई खुल्ला भ्यानमा राखेर विभिन्न सांस्कृतिक झाँकी र पञ्चेबाजा, भजन चुड्का सहित निस्केको उत्सव ¥याली पोखरा रंगशालामा पुगेर सम्पन्न भएको थियो । स्वर्ण विजेता खेलाडी सम्मानमा पोखरेलीहरुको वाक्लो उपस्थिति थियो । ¥यालीमा सहभागी खेलाडीलाई घर–घरबाट हेर्नेको भीड लागेको थियो भने सर्वसाधारणले विजयप्रति सम्मान व्यक्त गरेका थिए । सम्मान कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिष्दका सदस्य फत्तबहादुर गुरुङ, सहारा क्लबका अध्यक्ष विरभद्र आचार्य, पोखरा उपमहानगरपालिकाका कानुन अधिकृत नारायण शर्मा लगायतले प्रमाणपत्र, नगद तथा दोसल्ला ओढाई सम्मान गरेका थिए ।
सहारा क्लवका अध्यक्ष आचार्यले राज्यले खेलकुदमा लगानी गर्न सके नेपाली खेलाडीले विश्वकै कुनै पनि मुलुकलाई खेलकुद क्षेत्रबाट पराजित गर्न सक्ने दाबी गरे । बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) स्वर्ण जितेर नेपालको शीर उचो पार्नुका साथै नेपालको ईज्जत र प्रतिष्ठा बढाएका खेलाडीलाई पोखरामा सम्मान गर्न पाउँदा आफूहरु गौरवान्वित भएको उनले बताए । तेह्रौं साग पोखरामा आयोजना गर्नको लागि आजैबाटै तयारी सुरु गर्न आग्रह गरे ।
सम्मान कार्यक्रममा उपस्थित विभिन्न संघसंस्थाबाट संकलन भएको कुल ८५ हजार ५ सय ५५ रुपैयाँ पनि सम्मानित सबै खेलाडीलाई दामासाहीले जनही ३ हजार ४ सय २२ रुपैयाँ पनि प्रदान गरियो ।
यसअघि, कास्कीबाट सागमा सहभागी भएका खेलाडीहरुलाई शुक्रबार जिल्ला खेलकुद विकास समितिले सम्मान गरेको थियो ।
