प्रधानमन्त्री ओलीको पहिलो चीन भ्रमण आइतबारदेखि, अन्तराष्ट्रिय सम्बन्ध मजबुत बन्ने अपेक्षा

Share:

काठमाडौ, ६ चैत-
चिनियाँ प्रधानमन्त्री लि ख छयाङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि चैत्र ७ देखि १४ गतेसम्म गर्नुहुने चीन भ्रमणले नेपाल–चीनबीचको सम्बन्धमात्र होइन नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध नै नयाँ युगमा प्रवेश गर्ने विश्वास लिइएको छ ।

नेपालले ६५ वर्षको प्रतीक्षापछि नयाँ सङ्घीय, गणतन्त्रात्मक संविधान प्राप्त गरेपछिको नेपालका प्रधानमन्त्रीको पहिलो चीन भ्रमण अत्यन्त सामयिक र आशाजनक रुपमा हेरिएको छ ।

यसैवर्ष नेपालले विनाशकारी भूकम्पको मार खेप्नुपरेको र भारतीय नाकाबन्दीले अर्थतन्त्र तहसनहस भएको सन्दर्भमा पनि प्रधानमन्त्रीको यो भ्रमणले नेपालको पुनःनिर्माणलगायत दीर्घकालीन हितमा ठोस कार्य हुनसक्ने अपेक्षा गरिएको छ ।

यस वर्षको भूकम्प नेपालका लागि आघातमात्र नभई नयाँ नेपाल निर्माण गर्ने अवसर पनि भएको तथा नाकाबन्दीबाट पाठ सिकेर नेपालको भूपरिवेष्टित अवस्थाको बाध्यतालाई पनि तोड्नेतर्फ प्रयास हुनु जरुरी भएकाले यसले भविष्यमा फेरि ल्याउन सक्ने समस्याको दीर्घकालीन समाधान खोजी नेपालको अर्थतन्त्रलाई मजबुत बनाउनुपर्ने आवश्यकता महसुस गरिएको छ ।

यसै सन्दर्भमा हालैका दिनमा भारतसँग चिसिएको सम्बन्धलाई सामान्य अवस्थामा फर्काउन प्रधानमन्त्री ओलीले एक महिनाअघि गर्नुभएको भारतको सफल भ्रमणपश्चात् चीनतर्फ पनि सोहीअनुसार सहयोग तथा साझेदारी बढाउनु अत्यन्त उपयुक्त रहेको छ ।

प्रधानमन्त्री ओलीले नेपालका दुई ठूला छिमेकीको आर्थिक प्रगतिबाट हामी लाभान्वित हुनुपर्ने बताउँदै कुनै मित्रराष्ट्रविरुद्ध अर्को मित्रराष्ट्रको कार्ड प्रयोग गर्ने भन्ने आरोपलाई खण्डन गरिसकेका छन् ।

दुवै मित्रराष्ट्रसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्ने अवस्थामा एक राष्ट्रविरुद्ध अर्कोलाई प्रयोग गर्नु सोच्न नसकिने बताउँदै प्रधानमन्त्रीले दुवै राष्ट्रसँगको सहयोग अपरिहार्य रहेको बताएका छन् ।
उनले भ्रमण ऐतिहासिक र उपलब्धिपूर्ण हुने र नेपाल–चीन सम्बन्धमात्र होइन नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध नै नयाँ आयाममा पुग्ने बताएका छन् ।
भ्रमणका क्रममा पारवहन तथा यातायातसम्बन्धी सम्झौता हुने र नेपालको दीर्घकालीन हितका विकास आयोजनाहरु– रसुवागढी–काठमाडौँ तथा काठमाडौँ–पोखरा—लुम्बिनीसम्म रेलमार्ग, माथिल्लो अरुण जलविद्युत निर्माण, किमाथाङ्का नाकासम्म दुई लेनको बाटो, पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलगायतका विषयमा कुराकानी तथा समझदारी हुने सम्भावना रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: