
काठमाडौँ, ६ चैत-
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ‘ह्यारी’ बीच आज साँझ शिष्टाचार भेट भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच भएको २० मिनेट लामो सो भेटमा दुई देशबीच दुई शताब्दी लामो सम्बन्ध र मित्रताबारेमा केन्द्रित रहेर विचार विमर्श भएको थियो ।
भेटका अवसरमा राजकुमार ह्यारीले नेपालको वन्यजन्तु, वातावरणको संरक्षण, हिमाल र नेपाली जनताको सेवाका बारेमा चर्चा गरेका थिए ।
उनले विशेषगरी बेलायती सेनामा कार्यरत गोर्खा फौजको योगदानको चर्चा गर्दै नेपाल सरकारप्रति धन्यवाद ज्ञापन गरेका थिए ।
आफू पनि गोर्खा सेनासँग अफगानिस्तानमा खटिएर बसेको अनुभव सुनाउँदै गोर्खा फौजबाट अन्यन्त बहादुरी र वीरता प्रदर्शन भएको राजकुमार ह्यारीले अनुभव सुनाएका प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।
राजकुमार ह्यारीले भने– “गोर्खा फौजले आफूले नलड्नुपर्ने युद्धमा पनि बेलायतलाई सहयोग पु¥याएकोमा नेपाली जनताप्रति आभार र धन्यवाद ज्ञापन गर्न चाहन्छु ।”
भेटका अवसरमा प्रधानमन्त्री ओलीले धेरै टाढाको मुलुक भएर पनि नेपालको विकासमा बेलायतबाट हुँदै आएको निरन्तर सहयोगप्रति राजकुमार ह्यारीमार्फत बेलायत सरकार र जनताप्रति धन्यवाद व्यक्त गरे ।
साथै, भुइँचालोपछि राहत र उद्धारमा बेलायतले गरेको सहयोगप्रति पनि प्रधानमन्त्री ओलीले आभार व्यक्त गर्नुभएको सल्लाहकार रिमालले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले संविधानसभाबाट जारी भएको नेपालको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक संविधानलाई बेलायतले गरेको समर्थनप्रति प्रसन्नता प्रकट गर्दै दुईसय वर्षदेखिको नेपाल र बेलायतबीचको मित्रवत् सम्बन्ध आगामी दिनमा पनि थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेका थिए ।
बेलायतका राजकुमार ह्यारी नेपालको पाँचदिने औपचारिक भ्रमणमा आज अपराह्न नेपाल आइपुगेका हुन् ।
