
काठमाडौँ, ७ चैत
प्रधानमन्त्री केपी शर्मा ओली जनगणतन्त्र चीनका प्रधानमन्त्री ली खछयाङको निमन्त्रणामा आज बिहान त्यसतर्फ प्रस्थान गगरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले बिदाइ गरेका थिए ।
प्रधानमन्त्रीका साथ धर्मपत्नी राधिका शाक्य, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, वाणिज्यमन्त्री दीपक बोहोरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सांसद, मुख्य सचिव, विभिन्न मन्त्रालयका सचिव, नेपाल सरकार वरिष्ठ अधिकारी, व्यापारी र सञ्चार प्रतिष्ठानका प्रतिनिधि पनि चीन प्रस्थान गरेका छन् ।
भ्रमणका क्रममा प्रधानमन्त्रीले चीनका राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेट गर्नेछन् । चीनको ‘ग्रेट हल अफ द पिपल’मा आयोजना हुने स्वागत समारोहमा यही चैत ८ गते उनी सरिक हुनाका साथै उहाँले आफ्ना समकक्षी लीसँग वार्तामा पारस्परिक हित र साझा चासोका विषयमा द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
औपचारिक वार्तापछि प्रधानमन्त्रीद्वयको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा दुवै मुलुकका उच्च अधिकारीले हस्ताक्षर गर्नेछन् ।
चिनियाँ प्रधानमन्त्री लीले प्रधानमन्त्री ओली र उनी नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा सोही दिन दिवाभोज आयोजना गर्नेछन् ।
प्रधानमन्त्री ओली र उनी नेतृत्वको प्रतिनिनिधिमण्डल चैत १४ गते छेन्दुबाट स्वदेश फर्कने कार्यक्रम छ ।
