
रञ्जन अधिकारी पोखरा, ७ चैत / पोखरालाई प्लाष्टिक निषेधित क्षेत्र बनाउने अभियान तिब्र रुपमा अघि बढेको छ । पोखरा वडा नं. ६ पछि आज पोखरा वडा नं. ७ र ३ लाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिएको छ । आगामी वैशाख १ देखि पोखरा उपमहानगरपालिका क्षेत्रलाई प्लाष्टिक झोला र प्लाष्टिक गिलास निषेधित क्षेत्र घोषणा गर्ने उद्देश्य अनुरुप आईतबार वडा नं. ७ लाई प्लाष्टिक निषेधित वडा घोषणा गरिएको हो ।
घोषणा अघि प्लाष्टिकजन्य पद्धार्थ प्रयोगबाट हुने हानी, वातावरणलाई पार्ने प्रभावबारे लेखिएका प्लेकार्ड बोकी ¥याली समेत निकालिएको थियो । ¥यालीपछि आयोजित घोषणासभालाई सम्बोधन गर्दै पोखरा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत झलकराम अधिकारीले वैशाख १ गतेदेखि पोखरा पूर्ण प्लाष्टिक निषेधित नगर घोषणा हुने र यसलाई कडाईका साथ पालना गरिने बताए ।
‘पोखरा कालो प्लाष्टिक मुक्त नगर जसरी बन्यो । यसरी नै अब सबै प्लाष्टिक झोला र गिलासहरु यहाँ निषेध हुनेछन् ।’ उनले भने– ‘चैत मसान्तसम्म यसरी नै सबै वडा क्रमैसँग निषेधित वडा हुन्छन् । उनका अनुसार पोखरा वडा नं. ६ प्लाष्टिक निषेधित क्षेत्र बनिसकेको छ भने आईतबार पोखरा वडा नं. ७ सँगै पोखरा वडा नं. ३ लाई पनि घोषणा गरिएको छ ।
कार्यकारी अधिकृत अधिकारीले निषेध गरिएका वस्तु कानुन विपरित हुने भएकाले वैशाख १ देखि प्लाष्टिक उत्पादक, प्रयोगकर्तालाई कानुनी दायरामा ल्याई कारबाही गरिने चेतावनी पनि दिए । उनले अनुगमन संयन्त्र नै बनाएर नियमित बजार अनुगमन गर्ने बताए ।
कार्यक्रमको अध्यक्षता समेत गरेकी वडा सचिव यशोदा बरालले वडा क्षेत्रमा अब प्लाष्टिक झोला र गिलास प्रयोग नहुने र यसो हुन नदिन वडाबासी जागरुक हुनुपर्ने बताइृन् । उनले वातावरणीय हितका लागि अघि ल्याईएको यो योजना सफल बनाउनु सबै पोखराबासीको दायित्व भएको बताईन् ।
वडा नागरिक मञ्च पोखरा ७ की संयोजक प्रभा पन्तले वातावरण संरक्षणका लागि यो अभियान सकारात्मक भएको तर प्लाष्टिकको विकल्पका बारेमा पनि ध्यान दिनुपर्ने खाँचो औंल्याईन् । उनले वडाबासीलाई सहुलियत दरमा वैकल्पिक झोला उपलब्ध गराउन तयार रहेको बताउँदै सम्पर्कका लागि आग्रह पनि गरिन् । सो अवसरमा सहभागीहरुलाई एक थानका दरले वैकल्पिक झोला वितरण समेत गरिएको थियो ।
राजनीतिक दलहरुका तर्फबाट बोल्दै नेकपा एमाले पोखरा नगर कमिटिका अध्यक्ष तेजनारायण अधिकारीले सबैले यो अभियान सफल पार्नुपर्ने भन्दै यसका लागि सरोकारवाला पक्षसँग सबै विषयमा वृहत छलफलको आवश्यकता औंल्याए ।
कार्यक्रममा नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले स्वागत तथा टोल समन्वय समिति पोखरा ७ का अध्यक्ष राममोहन आचार्यले सञ्चालन गरेका थिए ।
