
काठमाडौं, ८ चैत-
साताव्यापी औपचारिक भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज महत्वपूर्ण राजनीतिक भेटघाट गर्दैछन् ।
प्रधानमन्त्री ओलीले आज चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भेटघाट गर्नेछन् भने आफ्ना चिनियाँ समकक्षी ली खछ्याङसँग पनि भेट्ने कार्यक्रम छ ।
आजै ग्रेट हल अफ दि पिपुलमा नेपाल–चीन वार्ता हुने र केही महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम पनि छ ।
प्रधानमन्त्री ओली चिनियाँ प्रधानमन्त्री लि खछयाङको निमन्त्रणामा आइतबार चीनको राजधानी बेइजिङतर्फ गएका हुन् । चैत १४ गतेसम्म हुने भ्रमणका क्रममा उनले चीनका विभिन्न शहरको भ्रमण र भेटघाट गर्नेछन् ।
प्रधानमन्त्री राजधानी बेइजिङस्थित डिआओयुताइ स्टेट गेष्ट हाउसमा रहेका छन् । प्रधानमन्त्री ओलीलाई बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका विदेश मन्त्रालयका उपमन्त्री लीउ जेन मिन, चीनका लागि नेपाली राजदूत डा। महेश मास्के, परराष्ट्र मन्त्रालय तथा दूतावासका उच्चपदस्थ अधिकारीले स्वागत गरेका थिए ।
त्यसअघि आइतबार बिहान ११ बजे काठमाडौंबाट चीनका लागि प्रस्थान गर्नुभएका प्रधानमन्त्री ओली पाँच घण्टाको उडानपछि बेइजिङ पुगेका हुन् ।
