
रञ्जन अधिकारी/रेम बिक पोखरा, ८ चैत / आफ्नो लक्ष्य नै पोर्नस्टार बन्ने भन्दै त्यस्तै खाले फोटोसुट गरेर सामाजिक संजालमा पोस्ट गरेपछि एकाएक विवाद र चर्चामा आएकी हुन् अर्चना पनेरु । तीनै अर्चना पनेरुलाई लिएर त्यस्तै एडल्ट फिल्म निर्देशकको छवि बनाएका राजु गिरिले पछिल्लो पटक फिल्म ‘जिश्म’ छायाँकन गरिरहेका थिए । र, फिल्म छायाँकन भैरहेकै बेलामा कास्कीमा प्रहरीले उनीहरुको टिमलाई नै सोमबार नियन्त्रणमा लियो ।
चलचित्र विकास बोर्डबाट ईजाजत नै नलिएर फिल्म फ्लोरमा लगेको आरोपमा प्रहरीले निर्देशक पोखराका राजु गिरि, अभिनेत्री अर्चना पनेरु, उनकी आमा कञ्चनपुरकी सुनिता पनेरु, आफन्त ओकेश पनेरु, सहनिर्देशक पाल्पाका सुदिप कुँवर, चितवनका शिवशरण न्यौपाने, अछामका सुरेन्द्र बुढा, प्राविधिक काभ्रेका हरिभक्त श्रेष्ठ गरी सात जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय, कास्कीको जिम्मा लगाएको हो । केहि घण्टा प्रहरी नियन्त्रणमा रहेका उनीहरुलाई प्रशासनले तारेखमा छाड्यो । उनीहरुको सम्पूर्ण प्राविधिक सामाग्री राख्दै फेरि बुधबार बोलाएको छ ।
सोमबार दिउँसो पोखराको खाल्टेमसिनामा नेपाली फिल्म जिश्मको छायाँकन भैरहेको थियो । र, रामबजारबाट खटिएको प्रहरीको टोलीले एकाएक फिल्मको छायाँकन रोक्दै नियन्त्रणमा लिएको हो । फिल्म निर्देशक राजु गिरि भने आफुलाई षड्यन्त्र गरेर फँसाईएको बताउँछन् ।
निर्देशक राजु गिरिले अर्चनाकै कारण विकास बोर्डले आफ्नो फिल्म दर्ता गर्न नमानेको आरोप लगाउँछन् । कतिपय फिल्महरु विना दर्ता छायाँकनमा जाँदा पनि चुप लागेर बस्ने विकास बोर्डका केहि सदस्यहरुले नियोजित रुपमा आफुहरुलाई फँसाएको उनको आरोप छ ।
खासगरि अर्चना पनेरुले केहि समय अगाडि केहि व्यक्तिको नामै किटान गरेर आफुलाई उनीहरुले सेक्स प्रस्ताव राखेको भनेर खुलाईदिएपछि उनीहरुले नै यो षड्यन्त्र रचेको उनले बताए । र, यो कुरामा अर्चनाले पनि सहमती जनाईन् ।
तर प्रशासनले भने कसैले फँसाएको नभई फिल्म छायाँकनको ईजाजत नै नलिएको कारणले फिल्म यूनिटलाई नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख हरिप्रसाद मैनालीले कानुनअनुसार फिल्मको निर्माण यूनिटलाई कारबाहि गरिने बताए । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईका अनुसार बिना ईजाजत फिल्म छायाँकनमा गएको खण्डमा फिल्मका सम्पूर्ण प्राविधिक सामाग्री सहित यूनिटलाई २८ दिनसम्म हिरासतमा राखि अदालत पठाउन सकिन्छ । उनले राजु गिरिलाई आफुले बारम्बार जानकारी गराउँदा पनि अटेर गरेको कारण प्रशासनको जिम्मा लगाईएको बताए । साथै, उनले आगामी दिनमा पनि छायाँकन गरेर ईजाजत लिन आउने फिल्मको सवालमा यस्तै कारबाहि अपनाईने बताएका छन् ।
विवादास्पद हर्कतका कारण चर्चामा आएकी अर्चना भर्खरै १० कक्षा पढ्दै गरेकी १७ वर्षीया किशोरी हुन् । उनकी आमा सुनिताकै उक्साहटमा भारतीय पोर्न स्टार सन्नी लियोन बन्ने भन्दै उनले सामाजिक सञ्जालमा नग्न तस्विरहरु पोष्ट गर्ने गर्छिन् । कञ्चनपुरबासीले गाउँमा बस्न नदिएपछि आमाछोरी नै काठमाण्डौं सरेका छन् । यसबीचमा अर्चनाले केहि भिडियोमा अभिनय समेत गरेकी छिन् भने राजुले पहिलो पटक चलचित्रमा ब्रेक दिएका हुन् ।
