पोखरा लगायत पहाडी जिल्लामा होली मनाइदैं

Share:

पोखरा ९ चैत्र ।
पोखरा तथा काठमाडौं उपत्यका सहित देशका विभिन्न पहाडी जिल्लाहरुमा मंगलबार उल्लासपूर्वक होली पर्व मनाईंदै छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रङ दलेर मनाउने गरिन्छ ।

यस दिनलाई पुरानो कटुता समाप्त गरेर र दुस्मनी बिर्सेर एक आपसमा खुसी साट्ने दिनका रुपमा पनि मनाउने प्रचलन रहेको छ । फागु पूर्णिमाका अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढका हुल तथा जत्था हातमा रङ र रङ्गिन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै उत्साह र उमङ्गका साथ रङ्गीन पर्वका रूपमा मनाउने गरेका छन् ।

सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्य कश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलिका जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ ।

असत्य माथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ । नेपालका पहाडी क्षेत्रमा फागु पूर्णीमाको दिन होली मनाउने गरिन्छ भने तराईमा पूर्णीमाको भोलिपल्ट होली पर्व मनाउने गरिन्छ । विभिन्न समुदायको बसोबास रहेको तराईमा दुई÷तीन दिनसम्म होली मनाउने चलन छ ।

सरकारले तराईमा पूर्णीमाको भोली पल्ट होलीको सार्वजनिक विदा दिए पनि एक दिन अगाडि नै होलीको रौनक सुरु भईसकेको छ । मिथिलाञ्चलमा पञ्चमीमा होली समापन गर्ने चलन रहिआएको छ ।

यस्तै, सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा पनि दुई दिनसम्म होली मनाउने प्रचलन छ । सुदूरपश्चिमका अछाम, डोटी लगायतका जिल्लामा पूर्णीमाको राति रंगीचंगी ध्वजा पताकाले रंग्याएको चिरमा आगो लगाउने र भोली पल्ट होली विसर्जन गर्ने परम्परा छ ।

त्यहाँ पूर्णीमाको रातभर र भोलिपल्ट दिनभर श्री राम, सीता, हनुमान र रावण तथा होलीकाबारे बनाईका देउडा गाएर ताल मिलाउँदै होली खेल्ने गरिन्छ ।

कमेन्ट गर्नुहोस्
Share: