क्षेत्रफल बढेपनि हेमजामा आलु उत्पादन कम

Share:

रेम बिक-
पोखरा, ११ चैत
आलुको लागि पकेट मानिने कास्कीको हेमजामा यो पटक आलु उत्पादन घट्ने देखिएको छ । गुणस्तरहिन बिऊको प्रयोगले आलुको उत्पादन घट्ने देखिएको कृषकहरुले बताएका छन् । आलुको बिऊको गुणस्तर घट्नुमा कृषकहरुले प्रस्र्याङमा रहेको एक मात्र कोल्ड स्टोरलाई दोष दिएका छन् ।
‘बिऊलाई कोल्ड स्टोरमा सुरक्षित राख्न नसक्दा यो समस्या देखिएको हो ।’ हेमजाका अगुवा कृषक चित्रनाथ पौडेलले भने–‘कोल्ड स्टोरमै राख्न पनि हाम्रो थुप्रै बिऊ कुहियो । बचेका केहि बिऊहरु पनि निकै कमसल भए । त्यहि कारणले आलुको बोट पनि राम्रो उम्रेन ।’ उनको अनुभवमा अघिल्ला वर्षभन्दा यो वर्ष करिब ५० प्रतिशतले आलु उत्पादनमा कमी आउने देखिन्छ । कोल्ड स्टोरले आगामी दिनमा पनि यस्तै समस्या दिने हो भने व्यवसायिक आलु खेती धराशायी हुने उनले चिन्ता व्यक्त गरे ।
पछिल्लोपटक आलु उत्पादन हुने खेतमा सिंचाईको पनि समस्या देखिएको छ । हेमजामा सिंचाईका लागि ल्याईएको नहर यतिबेला जिर्ण अवस्थामा छ । आलु उत्पादन बढाउनका लागि सिंचाईको व्यवस्थापन पनि गर्नुपर्ने देखिएको पौडेल बताउँछन् ।

आलु उत्पादन कम हुनुमा विषादीको प्रयोग कारण नभएको अर्का कृषक मधुसुदन त्रिपाठी बताउँछन् । ‘कतिपयले आलु उत्पादनमा कमी आउनुमा विषादीको प्रयोगलाई पनि मान्छन् । तर यहाँका कृषकहरुले अति न्यून मात्रै विषादीको प्रयोग गर्ने गर्छन् ।’ उनले भने–‘र, हामीले प्रयोग गर्ने विषादीले मानव स्वास्थ्य र आलुको उत्पादनमा ह«ास नल्याउने कुरा विज्ञहरुले पुष्टि गरिसकेका छन् ।’

कृषि सेवा केन्द्र हेमजाका प्राविधिक सहायक युवराज ढकालले भने कृषकले भनेजसरी आलु उत्पादनमा कमी भने नआउने बताउँछन् । ‘यो पटक अघिल्ला वर्षको तुलनामा आलु उत्पादनमा कमी आउने त निश्चित छ । तर कृषकहरुले भनेजसरी ह्वात्तै उत्पादन घट्ने भने देखिँदैन ।’ उनका अनुसार अघिल्लो वर्ष हेमजामा ६ हजार पाँच सय मेट्रिक टन उत्पादन भएकोमा यो वर्ष पाँच हजार ६ सय ७० मेट्रिक टन मात्रै उत्पादन हुने देखिएको छ ।

हेमजामा ४ सय ५० हेक्टर क्षेत्रफलमा आलु उत्पादन हुँदै आएको छ । यो वर्ष आलु ६ सय ५० हेक्टर क्षेत्रफलमा लगाईएको छ । यद्यपी अघिल्लो वर्षको तुलनामा यो वर्ष आलु उत्पादन कम हुने देखिएको हो । हेमजामा ९५ प्रतिशत क्षेत्रफलमा एमएस जातको आलु लगाईन्छ । यो आलुको बजार माग पनि निकै बढि भएको कृषकहरु बताउँछन् । हेमजामा ६ सय ५० जना कृषकहरुले व्यवसायिक आलु खेती गर्दै आएका छन् ।
उत्पादन लागत बढ्यो, भाऊ बढेन

कृषकहरुले आलु खेती गर्दा उत्पादन लागत बढेपनि बजार भाऊ भने नबढेको बताएका छन् । हेमजाको आलु यतिबेला प्रतिकेजी २५ देखि ३५ रुपैयाँसम्म विक्रि हुँदै आएको छ । यद्यपी पहिलेको तुलनामा आलुको उत्पादन पनि कम हुने र उत्पादन लागत समेत बढ्ने भएपछि कृषकहरु मारमा परेका हुन् ।

कृषकहरुका अनुसार आलु खेतीमा कुखुराको ‘सुली’ मलको रुपमा प्रयोग हुँदै आएको छ । हेमजाका कृषकले चितवनबाट यस्तो खाले मल ल्याउने गरेका छन् । हेमजामा सुलीको माग बढ्दै गएपछि चितवनका सुली व्यापारीहरुले भाऊ बढाएका छन् । ‘पहिला केहि कामको नभएर यसै खोलामा बगाईदिने सुलीको पनि अहिले चर्को गरि भाऊ बढेको छ ।’ कृषक भीमबहादुर थापाले भने–‘यसले उत्पादन लागत बढाएको छ ।’

यसअगाडि २ सय रुपैयाँमा एक बोरा सुली ल्याईराखेका कृषकले यो वर्ष ६ सय रुपैयाँ तिरेर आलुको मलको रुपमा प्रयोग गरेका छन् । हेमजाले अघिल्लो वर्ष १८ करोड रुपैयाँ बराबरको आलु विक्रि गरेको भएपनि यो वर्ष जसो तसो गरेर १७ करोडसम्मको आलु विक्रि हुने अनुमान कृषकले लगाएका छन् ।
आलु महोत्सव चैत २३ गतेबाट

हेमजामा उत्पादन हुने आलुको प्रचारप्रसार सँगै व्यवसायिक आलु खेतीलाई प्रबद्र्धन गर्ने उद्देश्यसहित चैत २३ गतेदेखि ३० गतेसम्म ‘आलु महोत्सव’ हुने भएको छ । सातौँ सँस्करणको ‘आलु महोत्सव’ स्थानिय विष्णुपादुका क्लबको आयोजनामा हुन लागेको हो ।

क्लबले बुधबार पत्रकार सम्मेलन आयोजना गरेर महोत्सवको बारेमा जानकारी दिएको हो । ‘व्यवसायिक आलु खेती सँगै समग्र हेमजाको पर्यटकिय संभावनाको बारेमा जानकारी दिनका लागि हामीले महोत्सव आयोजना गरेका हौँ ।’ क्लबका अध्यक्ष तथा महोत्सवका संयोजक रमेश कार्कीले भने–‘पछिल्लो पुस्तालाई कृषि र पर्यटन प्रति आकर्षित गर्न महोत्सवले भुमिका खेल्ने हामीले ठानेका छौँ ।’

मेलामा आलु प्रदर्शनी, आलुको विभिन्न परिकार, आलुको पहाडसँगै विभिन्न साँस्कृतिक प्रस्तुतीहरु आकर्षको रुपमा रहेका छन् । साथै पर्यटकिय हिसाबले जीपलाईन फ्लायर, बन्जी जम्प, सेती नदी ¥याफ्टिङ, प्याराग्लाईडिङ पनि विशेष आकर्षणको रुपमा रहेका छन् । मेलामा १२ वटा आलुको परिकार स्टल, ५० वटा व्यवसायीक स्टल, ३० वटा कृषि प्रविधि प्रदर्शनी स्टल, एउटा प्राथमिक उपचार केन्द्र र सुचना केन्द्रको स्टल रहनेछन् ।

मेला समापनका लागि २३ लाख २६ हजार रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।

कमेन्ट गर्नुहोस्
Share: