प्रधानमन्त्रीले माफी नमागेसम्म न्यायाधीश र राजदूतको सुनवाइ हुँदैनः पौडेल

Share:

काठमाडौं, ८ वैशाख-
प्रधानमन्त्रीले माफी नमागेसम्म प्रस्तावित न्यायाधीश र राजदूतहरूको संसदीय सुनुवाइ नहुने नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बताएका छन् ।

संसदीय सुनवाइ समिति कायमै छ भनेर आत्मालोचनासहित प्रधानमन्त्री केपी शर्मा ओलीले माफी माग्नुपर्ने उनले बताए । रिपोर्टर्स क्लबले बुधबार आयोजना गरेको साक्षात्कारमा नेता पौडेलले भने, ‘ प्रधानमन्त्रीले नै संसदीय सुनवाइ समिति छैन भनेर न्यायपरिषदको सदस्यमा सिफारिस गरिएका रामप्रसाद सिटौलाको नाम फिर्ता लिनुभएको हो, अब कसले सुनवाइ गर्ने रु उहाँले त्यसलाई सच्याएर संसदीय समिति कायमै छ भनी आत्मालोचना नगरेसम्म संसदीय सुनवाइ हुन सक्दैन ।’

न्यायपरिषद सदस्यमा रामप्रसाद सिटौलाको नाम सुनुवाइ समितिमा ल्याएपछि मात्रै सुनवाइ हुने पौडेलले बताए । अन्यथा संविधान अनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचन भएर समिति नबनुन्जलेसम्म सिफारिस गरिएका न्यायाधीश र राजदूतहरुले पर्खिएर बस्नु पर्ने कांग्रेस नेता पौडेलको तर्क छ ।

पौडलेले भने, ‘हामी संविधान संशोधन गरेर सुनवाइ समिति गठन गर्ने पक्षमा छैनौं । कि पुरानै सुनवाइ समितिले सुनवाइ गर्नुपर्यो, नभए नयाँ बनेपछि मात्रै हुन्छ ।’

पौडेलले राजदुत नियुक्तिमा कांग्रेससँग सरकारले सल्लाह पनि नगरेको र नियुक्तिमा मनपरी गरेको आरोप लगाए । कांग्रेसले संसदको बैठक बोलाउन आग्रह गरिसकेको भन्दै पौडेलले अब चुप लागेर नबस्ने र सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताए ।

कमेन्ट गर्नुहोस्
Share: