प्रधानमन्त्री केपी ओली भन्छन्–‘मलाई खिसि गर्छन् तर म गरेर देखाउँछु’

Share:

पोखरा, ८ बैशाख –
प्रधानमन्त्री केपी ओलीले सरकारले कृषिलाई व्यवस्थित र व्यवसायिक बनाउनुपर्ने बताएका छन् । यसो गर्न सकेमा मात्रै नेपालले आफुलाई सबल बनाउन सक्ने उनले दाबी गरेका छन् । सरकार पनि नेपाललाई व्यवस्थित, विकसित र शान्त बनाउने अभियानमा लागिपरेको उनले बताए ।

कास्की पुरुनचौरमा बुधबार कृषि तथा वन विज्ञान विश्वविद्यालय, प्राकृतिक स्रोत व्यवस्थापन कलेजको शिलन्यास गर्दै प्रधानमन्त्री ओलीले दक्ष जनशक्ति उत्पादन गर्न सकेमात्रै कृषिलाई आधुनिक र व्यावसायिक हिसाबले अगाडि बढाउन सकिने बताए । ‘अहिलेको सरकार जनताको सरकार हो । र, यसले जनताको सरोकारको विषयलाई सँधै सपोर्ट गर्छ ।’ प्रधानमन्त्रीले भने–‘हामी २ वर्षभित्रमा खानेकुरामा आत्मनिर्भर हुने र त्यसको केहि समयभित्रमा कपडा र औषधीमा आत्मनिर्भर हुने गरि काम अगाडि बढाईराखेका छौँ ।’ कृषिलाई आधुनिक र व्यावसायिक बनाउनका लागि हरेक ग्रामिण ईलाकामा विकासका पुर्वाधार पु¥याउन जरुरी भएको उल्लेख गर्दै उनले त्यसतर्फ पनि सरकारले चासो लिएको बताए ।

उनले आफुले यसो भनिरहँदा अरुले खिसि गर्ने गरेको पनि बताए । ‘अरुले चाँहि यो सरकारले साँच्चै भनेको जस्तो ग¥यो भने त लोकप्रिय हुने भयो भनेर खुट्टा तान्ने काम पनि गर्छन् ।’ उनले आरोप लगाए । उनले नेपाल गफ गर्नेहरुको जमात भएकोले अगाडि बढ्न नसकेको बताउँदै काम गर्न सक्ने हो भने विकासका लागि धेरै समय नलाग्ने बताए । ‘कुरा काट्ने र बस्ने मात्रै होईन । काम गर्ने हो ।’ उनले भने–‘मलाई अरुले के भन्छ संग मतलब हुँदैन । नेपाली जनताले जे भन्छन् म त्यहि मान्छु । र, अहिलेको सरकार विकासका लागि हो ।’

सोहि प्रसंगमा उनले आफुलाई प्रधानमन्त्रीको कुर्सीको खेलमा कुनै लोभ नभएको पनि बताए । ‘म धेरै ढिला गरि यो पदसम्म आईपुगेको छु । र, मलाई काम गर्ने कुरासँग मात्रै मतलब छ ।’ उनले भने–‘कुर्सीको खेलमा लाग्नेहरु खेल खेल्दै गर्नुहोस् । तर म चाँहि काम गरिरहन्छु ।’

उनले नेपाल आत्मनिर्भरताको बाटोमा अगाडि बढिसकेको उल्लेख गर्दै केहि समयभित्रै नवलपरासीको फलामखानी संचालनमा ल्याउने बताए । उनले अन्य खानीहरुको पनि अध्ययन गरेर उत्खनन् शुरु गर्ने कामलाई सरकारले तिव्रता दिने बताए । नेपाल आत्मनिर्भर हुनको लागि अर्को ठुलो संभावना भनेको पर्यटन रहेकोले नेपालले यो कुरामा पनि सबल बन्नुपर्ने उनले बताए । ‘नेपाल प्राकृतिक रुपमै सुन्दर छ । यसलाई अलिकति मेकअप गर्दिनुपर्छ, संसारकै सबैभन्दा सुन्दर ठाऊँ यहि हो ।’

कमेन्ट गर्नुहोस्
Share: