
गुल्मी, ९ बैशाख-
गुल्मीको जैसीथोकमा आगो नियन्त्रण गर्न पुगेको नेपाली सेना गुरुगोरख गुल्मका गुल्मपति सहितका सैनिक टोलीले वनमा आगो लगाउँदै गरेको एक व्यक्तिलाई पक्राउ गरेको छ । गुल्मपति सेनानी महेन्द्रकुमार पुनले जैसीथोकबाट फर्केर आउँदै गर्दा सेउवा भन्ने स्थानको जंगलमा पनि लागेको आगो नियन्त्रण गर्न ओर्लिएको र नियन्त्रण गर्दैगर्दा त्यस जंगलमा आगो लगाउँने व्यक्तीलाई आफुले पक्राउ गरी प्रहरीलाई बुझाउन लागेको बताए ।
‘जैसीथोकबाट फर्किने क्रममा रेसुङ्गा नगरपालिका–४ को सेउवास्थित सल्लेरी वनमा पनि लागेको आगो निभाउन थालेको थियौ ’–गुल्मपति पुनले भने–‘ केहि शंका लाग्यो र खोज्दै जाँदा सोही स्थानका अन्दाजी ६० वर्षिय गोपिराम सुनारलाई आगो सल्काएकै स्थानमा फेला पारेको हुँ ।’
उनले जिल्ला प्रहरी कार्यालयका एक अधिकारीलाई फोन गर्दै भने–‘ मैले यो वनमा आगो लागाउने यस मान्छेलाई भर्खरै समातेको छु, यसलाई कडा कार्वाही गर्नु पर्छ है । ’ उता जैसीथोकमा लागेको आगो नियन्त्रणमा आई सकेको गुल्मपति पुनले जानकारी दिए । सेउवामा लगाईएको आगो नियन्त्रणमा पनि सेनाको टोली जुटिरहेको उनले बताए । निज व्यक्तिलाई प्रहरीले बुझ्न जाँदै छ त ? भन्ने प्रश्नमा जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र नेपालले भने–‘ यहाँबाट उसलाई लिन मान्छे पठाईएको छ , यहाँ ल्याएर सोधपछ गरेपछि पुष्टी गरिने छ । ’
