डोटीबाट हातहतियारसहित पक्राउ परेका भारतीय प्रहरी छुटे

223
0
Share:

धनगढी, १४ वैशाख-
डोटीको सानागाउँबाट हातहतियारसहित पक्राउ परेका पाँच भारतीय प्रहरी रिहा भएका छन्। हातहतियारसहित आइतबार पक्राउ परेकाहरुलाई प्रहरीले सोमबार रिहा गरेको हो।

सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक विजयराज भट्टका अनुसार नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव डा. क्यानन्ट र पन्जाबस्थित भारतीय प्रहरीका नायब उपरीक्षक गुरुमित सिंहको रोहबरमा तिनलाई रिहा गरिएको हो।

डोटीमा पक्राउपछि भारतीय प्रहरीलाई आइतबार राति धनगढी ल्याइएको थियो। रिहापछि नेपाल प्रहरीको टोलीले पक्राउ परेका भारतीय प्रहरीलाई कैलाली भन्सार हुँदै सीमापारि गौरीफन्टासम्म पुर्याएको थियो।

पन्जाबका चिकित्सक डा. रमेशकुमार पुरीको हत्याका अभियुक्त खोज्न भन्दै सादा पोसाकमा हतियारसहित नेपाल प्रवेश गरेका ती प्रहरीलाई अछाम जाने क्रममा डोटीको सानागाउँबाट आइतबार बिहान पक्राउ गरिएको थियो।

हत्या आरोपमा अछाम जिल्लाका दुई नेपालीलाई पक्राउ गर्न पर्यटकका रुपमा उनीहरु नेपाल प्रवेश गरेको जनाइएको छ। पश्चिमी मिमानाका गड्डाचौकीबाट नेपाल छिरेका उनीहरुबाट एक एक थान एके–४७ राइफल र पेस्तोल तथा दुवै हतियारमा लाग्ने ३७ थान गोली बरामद गरिएको थियो।

कमेन्ट गर्नुहोस्
Share: