अनेरास्ववियू पृ.ना.द्वारा नमुना स्ववियू निर्वाचन

Share:

रञ्जन अधिकारी पोखरा, २३ वैशाख / हरेक दुई वर्षमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन २०६५ देखि हुन नसकिरहेका बेला अधिकांश विद्यार्थी अविलम्व निर्वाचन हुनुपर्ने पक्षमा देखिएका छन् । स्ववियू निर्वाचन गर्न सांकेतिक दबाब स्वरुप पोखराको पृथ्वीनारायण क्याम्पसमा विहीबार नमुना स्ववियू निर्वाचन गरिएकोमा ९६ प्रतिशत बढिले निर्वाचन हुनुपर्ने मत जाहेर गरे ।

अनेरास्ववियू क्याम्पस एकाई कमिटिका अध्यक्ष राजन शर्मा पराजुलीका अनुसार कुल छ हजार एक सय ८९ मत खसेकोमा पाँच हजार नौ सय ५६ ले स्ववियु निर्वाचन हुनुपर्नेमा मत दिए । क्याम्पसको मूल गेटमा बुथ राखेर गरिएको नमूना मत सर्वेक्षणमा दुई सयले मात्र निर्वाचन आवश्यक छैन भन्नेमा मत दिएका थिए । खसेका मत मध्ये ३३ मत बदर भएको थियो । यस्तै, तीन विकल्प दिएर विद्यार्थी संगठन कुन मन पर्छ भनेर समेत नमुना मत संकलन गरिएको पराजुलीले बताए । उनले अनेरास्ववियू लगायतका विद्यार्थी संगठनलाई चुनावमा होमिनका लागि दबाब दिन र त्रिभुवन विश्वविद्यालयलाई अविलम्व स्ववियु निर्वाचनको मिति घोषणा गर्न दबाब स्वरुप कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले कास्कीका सदस्य तथा युवा संघका केन्द्रिय सदस्य दर्शन लामाले विद्यार्थीको हकहितमा लागि पर्ने सबैको एकमात्र संगठन स्ववियूको निर्वाचन नहुनु अत्यन्त दुःखदपुर्ण अवस्था रहेको भन्दै तत्काल निर्वाचनको वातावरण तयार गर्न सरोकारवाला पक्षलाई आग्रह गरे ।

C360_2016-05-05-08-26-12-407

विशेष अतिथि अनेरास्ववियूका केन्द्रिय सदस्य भरतमान कोने गुरुङले पञ्चायतलकालीन अवस्थामा समेत नरोकिएको स्ववियु निर्वाचन गणतन्त्र स्थापनापछि रोकिनु अत्यन्त आपत्तिजनक रहेको बताए । जनआन्दोलनमा अघिल्लो मोर्चामा रहेर लडेका विद्यार्थीहरुको एकमात्र साझा माग पुरा गर्नु दलहरुको दायित्व भएको उनको भनाई छ ।

सो अवसरमा पञ्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, एमाले कास्की क्षेत्र नं. २ सचिव पुर्ण ह्योल्मो, अनेरास्ववियु भुगोल जिल्ला कमिटि अध्यक्ष शेखर गौतम, विद्यार्थी नेताहरु शुशिल बस्नेत, ठाकुर पौडेल, अशोक पौडेल, क्यामपस जिल्ला कमिटि सहसचिव शंकर सैंजु, भुगोल जिल्ला कमिटि सदस्य माधव गौतम लगायतको आतिथ्यता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: