मुखिया भन्छन्, ‘‘छोराछोरीभन्दा भेँडीगोठ नै प्यारो”

Share:

श्यामशीत्तल परियार

लमजुङ, वैशाख २५-
लमजुङ घलेगाउँका केश वहादुर गुरुङ उमेरले तीन विष काट्न लागिसके । यो उमेरमा पनि उनी हँसिला र जाँगरिला देखिन्छन । गुरुङ भेडीगोठका मुखिया समेत हुन । दक्षिण एसियाकै उत्कृष्ट पर्यटकीय गाउँ घलेगाउँ नजिककै भेडीगोठमा उनी भेटिए । त्यसो त, उनले ९ वर्षको उमेरदेखी आजसम्म भेँडीगोठमा नै आफ्नो जीवन विताउँदै आएका छन ।
‘‘९ वर्षदेखी नै म भेडीगोठमा रमाउन थाले,” उनले भने, ‘‘अव वाँकी जीवन पनि यही विताउन चाहन्छु ।” उनका दुई छोरी र छोरा गरी चार सन्तान छन । उनले भेँडीगोठमा नै काम गरी चार सन्तानहरुलाई प्रवेशिका सम्मको शिक्षा दिएका छन ।
अहिले उनका जेठा छोरा ईन्डियन आर्मी हुन । कान्छा छोरा दुवई सेक्युरिटी गार्डको रुपमा कार्यरत छन । छोरीहरुले भने पराई घर सम्हालिसकेको छन ।
घलेगाउँको भेँडीगोठमा अहिले ५ सय ५० भन्दा वढि भेँडावाखा्र रहेका छन । उनी मुखिया रहेको भेँडीगोठमा मनप्रसाद गुरुङ र ववीध्वज गुरुङ भेँडा हेरालुको रुपमा रहेका छन । भेँडावाख्राको संरक्षणका लागि ४ वटा कुकुर समेत रहेका छन ।
भेँडीगोठमा घलेगाउँका साथै गिलुङ, लामागाउँ, पसगाउँ लगायका भेँडा वाख्रा रहेका छन । ‘‘चर्को घाम होस या असिना पानी भेँठा वाख्रा चराउनु पर्छ,” मुखिया गुरुङले भने, ‘‘भेँडीगोठमा काम गर्न दुःख छ नी ।” आफुलाई भेँडीगोठमा नै रमाईलो लाग्ने उनले सुनाए ।
‘‘छोराहरु आफ्नो खुट्टामा उभिएका छन । काम नगर्नु वुवा भन्छन्,” उनी सम्झन्छन्, ‘‘आफ्नो पाखुरा चलुन्जलेसम्म आफ्नै पौरख खाने हो । भेँडीगोठमा हुर्केँ, छोराछोरी हुर्काएँ, पढाएँ र वढाएँ । उनीहरु भन्दा मलाई भेँडीगोठ नै प्यारो लाग्छ ।”
भावुक भन्दै उनले भने, ‘‘मेरो अन्तिम सास पनि भेँडीगोठमा जाओस् ।” भेँडावाख्रा चराउनका लागि उनीहरु टाढाटाढाको जंगलसम्म पुग्ने गर्दछन । चरणका लागि निश्चित क्षेत्र तोकिने उनीहरुले सुनाए ।
भेँडीगोठमा काम गरेवापत खाएर÷वसेर मुखियाँ गुरुङले ७ हजार, उनका सहयोगी मनप्रसाद गुरुङ र वव्वीध्वज गुरुङले ६÷६ हजार पाउँछन ।
कहिलेकाहीँ वाघको आक्रमण र विभिन्न रोगहरुका कारण भेँडावाख्रा मर्दा उनीहरु चिन्तामा पर्छन ।
४ महिनाको अवधीमा ३५ वटा भेडावाख्रा वाघले मारेको उनले सुनाए । केही कुनै कारणले भेँडावाख्रा मर्न गएमा उनीहरुले सम्वन्धित व्यक्तिलाई वुझाउने गर्दछन । र भेँडा वाख्रा वेचेर आएको पैशा पनि उनीहरु सम्वन्धित व्यक्तिलाई वुझाउने गर्दछन ।
गाउँमा भेँडापालनका लागि गाविसवाट समेत वजेट छुट्याईने गरेको स्थानीयहरु वताउँछन । चिसो हावापानी र चरण क्षेत्र पर्याप्त भएको ठाउँमा भेडापालन राम्रंो हुने जिल्ला पशु सेवा कार्यालय लमजुङले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: