ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने प्रतिबद्धता, ट्राफिक सप्ताह आईतबारदेखि

Share:

रञ्जन अधिकारी पोखरा, २५ वैशाख / पोखरा सहित कास्कीका सडक क्षेत्रमा ट्राफिक व्यवस्थापन चुस्त बनाईने जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका नवनियुक्त प्रमुख प्रहरी निरिक्षक विश्वराज अधिकारीले बताएका छन् । उनले पोखराको ट्राफिक ब्यवस्थापन सुधारमा आफु लागिपर्ने बताए ।

शनिबार विहान आयोजित पत्रकार भेटघाटका अवसरमा उनले ट्राफिक व्यवस्थापनको लागि बिशेष योजना नै बनाएर अघि बढ्ने बताए । उनले भने – ‘केहि समयपछि पोखराको ट्राफिक ब्यवस्थापनमा सुधारको संकेत देख्न पाउनुहुनेछ ।’ ट्राफिक ब्यवस्थापनको लागि सरोकारवाला सबै निकायसँग समन्वय गरी अघि बढ्ने उनले प्रतिबद्धता जनाए ।

तत्कालको लागि ट्राफिक नियम कार्यान्वयनमा जोड दिने उनको कार्ययोजना छ । ट्राफिक सचेतना कार्यक्रम, पार्किङ ब्यबस्थापन, ट्रफिक प्रहरीलाई प्रविधिमैत्री बनाउदै स्रोत साधन सम्पन्न बनाउनमा जोड दिने अधिकारीले जनाए ।

कार्यक्रममा उपस्थित पत्रकारहरुले पोखराको ट्राफिक ब्यबस्थापन पछिल्लो समय चुनौतिको रुपमा रहेकाले सोहि अनुसार विशेष कार्ययोजना बनाएर अघि बढ्न सल्लाह दिएका छन् । उनीहरुले ट्राफिक ब्यवस्थापनको लागि विशेष कार्ययोजना बनाए नागरिक समाज र पत्रकार सहयोगको लागि तयार रहेको बताए । पत्रकारहरुले सार्वजनिक सवारीले बढी भाडा असुल गरेको, गाडीहरु अनियन्त्रित रुपमा सञ्चालन हुने गरेको, क्षमता भन्दा बढी यात्रु राख्ने, जथाभावी रोक्ने प्रवृतिको अन्त्य गर्न सुझाब दिए । उनीहरुले ट्राफिक प्रहरी र उनीहरुको सहयोगीका रुपमा खटिने अन्य प्रहरीलाई प्रशिक्षणको खाचो समेत औल्याए ।

ट्राफिक प्रहरी निरिक्षक अधिकारीले सबैको सल्लाह र सुझावको आधारमा ट्राफिक ब्यबस्थापनमा सुधार ल्याउने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा प्रहरी नायब निरिक्षक शिब बहादुर थापा र राजकुमार केसी, प्रहरी सहायक निरीक्षक पुर्णबहादुर अधिकारी पनि सहभागी थिए ।

यसैबीच, अधिकारीले आईतबारदेखि कास्कीमा सुरु हुने ट्राफिक सप्ताहमा सक्रिय सहभागिताका लागि अनुरोध समेत गरे । विभिन्न सचेतनामुलक कार्यक्रम गरि नेपाल रेडक्रस सोसाइटी कास्की शाखासँगको सहकार्यमा जेठ १ गतेसम्म ट्राफिक सप्ताह मनाईने भएको छ । आईतबार बिहान मानवअधिकार चोकबाट प्रभातफेरि सुरु हुनेछ । पर्चा पम्लेट वितरण पनि सुरु गरिनेछ । २७ गते पोखरा १०,११ उपशाखाका समुदायलाई ट्राफिक कक्षा, २८ गते हेम्जा उपशाखामा र अम्बिका माविमा ट्राफिक कक्षाका साथै यात्रुलाई जेब्रा क्रसिङ मार्फत पार गराउने, २९ गते चालक तथा सह–चालकलाई र पोखरा–७ उपशाखामा समुदायलाई ट्राफिक शिक्षा प्रदान गरिने छ ।

कमेन्ट गर्नुहोस्
Share: