
जेठ ४ – डिएगो कोष्टा, जुआन माटा र फर्नान्डो टोरेस युरो २०१६ का लागि घोषित स्पेनको राष्ट्रिय टोलीबाट बाहिरिएका छन् । प्रशिक्षक भिनसेन्ट डेल बस्कोले युरो २०१६ का लागि छनौट गरेको टोलीमा कोष्टा, माटा र टोरेसलाई समावेश गरेका छैनन् ।
कोष्टाले अहिलेसम्म स्पेनका लागि १० खेल खेल्दै जम्मा १ गोल गरेका थिए । इंग्लिस क्लव चेल्सीबाट खेल्दै आएका २७ वर्षे कोष्टाले चोटका कारण प्रिमियर लिगका दुई खेल गुमाएका थिए । प्रशिक्षक भिनसेन्टले टिम घोषणा गर्दै चोटग्रस्त कष्टामाथि आफूले जोखिम उठाउन नचाहेको स्पष्ट पारे ।युरोकप छनौटमा स्पेनका लागि सबैभन्दा धेरै ५ गोल गरेका पेसो अलकेसर पनि युरो कप खेल्ने टिममा परेनन् । यस्तै बार्यन म्युनिखबाट खेल्दै आएका डिफेन्डर जाभी मार्टिनेज पनि टोलीमा छैनन् ।
फ्रान्समा आउँदा महिना हुन लागेको युरो कपमा स्पेन क्रोएशिया, चेक गणतन्त्र र टर्कीसँगै समूह डीमा छ । स्पेनले जुन १३ तारिखमा आफ्नो पहिलो खेल चेक गणतन्त्रसँग खेल्ने छ । लगातार पछिल्ला २ संस्करणको विजेता स्पेनले सन् १९६४ मा पहिलो पल्ट युरो कप जितेको थियो ।
– एजेन्सीको सहयोगमा
