पूर्वसभासद् बुधनीदेवीलाई पिटेको आरोपमा तीन जना पक्राउ

Share:

महोत्तरी, जेठ ५ – एकीकृत नेकपा माओवादीकी पूर्व सभासद बुधनीदेवी महतोलाई मरणासन्न हुने गरी पिटेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गौशालाले घटनामा संलग्न भएको भन्दै लक्ष्मिनियाँ–८ का ३४ वर्षकी नथुनी यादव, २९ वर्षका नरेश यादव र ४६ वर्षका रामईश्वर यादवलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।
फरार रहेका उनीहरुलाई प्रहरीले घरबाटै पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए । पक्राउ परेका तीनैजनालाई आवश्यक कारबाहीका लागि जलेश्वर पठाइएको प्रहरी निरीक्षक पोखरेलले जानकारी दिए ।
उनीहरुले सोमबार राति महतोको घरमा प्रवेश गरी घरेलु हतियार प्रयोग गरी मरणासन्न हुने गरी कुटपिट गरेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकी महतोको अहिले जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । गाँउका दुई समूहबीच लामो समयदेखि चल्दै आएको विवाद समाधान गर्ने क्रममा महतोको भूमिकाप्रति असन्तुष्ट रहेको समूहले मारपिट गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: