
पोखरा, ८ जेठ-
कास्कीमा क्रियाशील विभिन्न बौद्ध संघ संस्था तथा जातिय संस्थाहरुद्धारा गठित बुद्ध जयन्ती समारोह समिति कास्कीले आज पोखरामा भव्यताका सथा बुद्ध जयन्ती मनाएको छ । २५ सय ६० औं बुद्ध जयन्ती सप्ताहव्यापी कार्यक्रम गरि मनाउने शुरु गरेको समितिले आज शान्ति पदयात्रा र धर्म सभा गरी बुद्ध जयन्ती सम्पन्न गरेको हो ।
बुद्ध जयन्तीको अवसरमा नदिपुरस्थित धर्मशीला बुद्ध विहारबाट शुरु भएको शान्ति पदयात्रा ज्ञानमार्ग पालिखेचोक, तेर्सापट्टि, नालाको मुख, भैरबटोल, मोहोरियाटोल, बागबजार, हरिचोक, सिमपानीचोक, बगर ट्याक्सीचोक, क्याम्पस गेट हुदै नदिपुरस्थित शाक्य समाज भवनमा धर्मसभामा परिणत भएको थियो । यात्रामा बुद्ध धार्मिक र विभिन्न जातिय तथा नागरिक समाजको बृहत सहभागीता रहेको थियो ।
धर्म सभाको दीप प्रज्वलन गरी उद्घाटन गर्नुहुदै प्रमुख अतिथि मिक्षु सागर धम्मले बुद्धले पाँचवटा नकरात्मक तत्वलाई विजय गरेको दिनलाई बुद्ध जयन्तीको रुपमा मनाउदै आएको ऐतिहासिकता चर्चा गर्नुहुदै बुद्ध जयन्तीको शुभकामना व्यक्त गर्नुभयो ।
बौद्ध अर्घौं सदनका प्रमुख लामा आचार्य थुप्तेन ऐसे सिरलामा गुरुङले बुद्ध जयन्तीको शुभकामना व्यक्त गर्नुहुदै नेपालमै जन्मनु भएको बुद्धको नेपालमा उचित सम्मान हुन नसकेको गुनासो गर्नुभयो ।
सह क्षेत्रीय प्रसासक दिवाकर बाँस्तोलाले बुद्ध धर्म सनातन देखि नै चलि आएको बताउनुहुदै बुद्धलाई लाईट अफ वल्र्ड भन्नु पर्नेमा लाइट अफ एशिया भनेर साँघुर्याएकोमा आफ्नो चित्त दुखेको बताउनुभयो । बुद्धले अनन्तकालसम्म अस्तित्वमा रहने दर्शन, निती प्रदान गरेरे सभ्य समाज निर्माणतर्फ लक्षित गरिएकाले पञ्चशील सबैले व्यवहारमा उतार्नुपर्ने बताउनुभयो ।
सनातन धर्म सेवा समितिका अध्यक्ष रविन्द माकाजुले बुद्ध शिक्षा मानवका लागि प्रत्येक पल महत्वपुर्ण रहेकाले सबैले अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बुद्ध धर्म प्रचार प्रसार, जागरण र बुद्ध शिक्षाका लागि विशेष योदान दिएको भन्दै बौद्ध अर्घौं सदनका पुर्व अध्यक्ष शंकर गुरुङलाई सम्मानपत्रसहित प्रमुख अतिथि सागर धम्म, विशेष अतिथि सह क्षेत्रीय प्रसासक दिवाकर बाँस्तोला, बुद्ध जयन्ती समारोह समितिका अध्यक्ष नरेन्द्रमान लालचनले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा बुद्ध जयन्ती स्मारिका प्रमुख अतिथि सागर धम्म र सभाध्यक्ष नरेन्द्रमान लालचनले विमोचन गर्नुभयो भने अक्षयकोषदाताहरुलाई कदर पत्र, संस्थागत सदस्यहरुलाई प्रमाणपत्र, शान्ति पदयात्रामा सहभागी संस्थाहरुलाई प्रसंसापत्र र सहयोगीहरुलाई सम्मान गरिएको थियो ।
समितिका अध्यक्ष नरेन्द्रमान लालचनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सागर धम्मले बुद्ध धर्मको थेरवादी प्रचलन अनुसार पञ्चशील र महयानी अनुसार लामा आचार्य थुप्तेन येसेले मंगल पाठ गर्नुभएको थियो । कार्यक्रममा समितिका उपाध्यक्ष नासु गंगाबहादुर गुरुङले स्वागत, सचिव गोविन्द ताम्राकार र सहसचिव कृष्ण तामांगले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा विविध साँस्कृतिक प्रस्तुति गरिएको थियो ।
सप्ताहव्यापी कार्यक्रम अन्र्तगत शुभारम्भ र्याली, स्वास्थ्य शिविर तथा रक्तदान, प्राणदान(माछा छत्तर), प्रभातफेरी, सरसफाई, गणचक्र पुजा, प्रवचन, भोजनदान, फलफुलदान, भिक्षु शुभद्र श्रद्धाञ्जली सभा, धर्म देशना,शिल प्रार्थना, बुद्धपुजा, दान कार्यक्रम, शान्ति दीपयात्रा, ज्ञानमाला भजन तथा भैषन्य पुजा, लगायत गरिएको समितिका अध्यक्ष लालचनले जानकारी दिनुभयो ।
