
काठमाडौं, ८ जेठ-
गरिमा विकास बैंकले २७ औं शाखा काठमाडौंको सामाखुसीमा विस्तार गरेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले शुक्रबार सामाखुसी शाखा उद्घाटन गरे ।
कार्यकारी निर्देशक पौडेलले बैंक तथा वित्तीय संस्थाले संस्थागत सुशासन कायम राख्दै सामाजिक अवस्था सुधार सहितको वित्तीय सेवा प्रवाह गर्नुपर्ने बताए । गरिमाका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बैंकलाई सर्वोत्कृष्ट बनाउन आफूहरु लागीपरेको बताए ।
नीलगिरी विकास बैंकसँग मर्जर पूरा गरी गरिमा शुभेच्छा विकास बैंकसँग मर्जर प्रक्रियामा छ । डेभपलमेन्ट बैंकर्स एसोसिएसन अध्यक्ष कृष्णराज लामिछानेले ग्रामीण क्षेत्रबाट राजधानीमा शाखा खोलेर गरिमाले उदाहरणीय काम गरेको बताए ।
राष्ट्र बैंकले विकास बैंकहरुलाई सक्षम बन, क्षमता बढाऊ, ठूलो बन अनि जोखिमवहन क्षमता बढाऊ भने पनि खुलेर कारोबार गर्न नदिएको उनले बताए ।
२ अर्ब पुँजी भएका अहिलेका वाणिज्य बैंकले गर्ने काम २ अर्ब ५० करोड पुँजी हुने विकास बैंकले गर्न किन नपाउने भन्दै विकास बैंकलाई सरकारी निर्माण ठेक्काको ग्यारेन्टी जारी गर्न पाउने व्यवस्था, एलसी कारोबार र रेमिट्यान्स कारोबार गर्न दिइनुपर्ने लगायत माग राखे ।
स्याङ्जाको वालिङबाट सेवा सुरु गरेको गरिमाले जेठ ३ गते स्याङ्जाकै चापाकोटमा २६ औं शाखा खोलेको थियो । वैशाख २० गते बागलुङको बुर्तिबाङमा २५ औं शाखा विस्तार गरेको थियो । राष्ट्रव्यापी सञ्जाल विस्तारको क्रममा जेठ ११ गते नवलपरासीको बर्दघाटमा २८ औं शाखा उद्घाटन गर्न लागिएको प्रमुख कार्यकारी अधिकृत ढकालले बताए ।
२२ करोड ७३ लाख रुपैयाँ चुक्ता पुँजी भएको सुभेक्षा विकास बैंकसंग गरिमाले मर्जर सहमति गरेको छ । गरिमाको चुक्तापुँजी ८५ करोड ३२ लाख रुपैयाँ छ । मर्जरपछि चुक्ता पुँजी १ अर्ब ८ करोड रुपैयाँ पुग्नेछ ।
चालु आर्थिक वर्षको चैत मसान्तको अवधिमा बैंकले ७ अर्ब ८४ करोड ४९ लाख ५३ हजार रुपैयाँ निक्षेप संकलन, ७ अर्ब १६ करोड ८२ लाख ७८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । उक्त अवधिमा बैंकले १४ करोड ६६ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
