
पोखरा, ३ असार-
पोखरा बस व्यवसायी समितिले पुराना गाडी विस्थापित गरी २६ वटा नयाँ लक्जरी बस गुडाउने तयारी गरेको छ ।
आइसर ब्राण्डको सुविधायुक्त ती बस अटोवेज प्रालिले तयार गरी बिहीबार बसधनीलाई चावी हस्तान्तरण गरेको छ । नयाँ बसमा अन्य बसको तुलनामा ५ देखि ७ प्रतिशत सम्म ईन्धन खपत हुनुको साथै आरामदायी सिट, मर्मत खर्च कम लाग्ने, अग्नी नियन्त्रक सुविधा लगायतका सुविधा राखिएको छ ।
३७ लाख रुपैयाँ पर्ने ती बस एक साताभित्र पोखरा बस व्यवसायी समितिले पोखराको सडकमा गुडाउने तयारी गरेको छ ।
अटोवेज पोखराका प्रबन्ध निर्देशक नारायण पौडेलका अनुसार अहिले सञ्चालनमा रहेका भन्दा छुट्टै रंगमा ती बस तयार भएका छन् ।
पुरानो बस विस्थापनको नीति अन्तर्गत पोखरा बस ब्यवसायी समितिले नयाँ सुविधायुक्त ३६ सिटे बसहरु थप गरेको जनाएको छ ।
